नेपालमा एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको छ।

काठमाडौँ– नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गतका कार्यक्रम रोकिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी फन्डबाट भुक्तानी हुने कार्यक्रम पनि प्रभावित भएको हो।

अर्थ मन्त्रालयले यसअघि ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी सहायता र अन्य कार्यक्रमहरू ९० दिन रोकिने तर एमसीसीले निरन्तरता पाउने जनाएको थियो। तर मंगलबार अर्थ मन्त्रालयले तीन महिनाका लागि एमसीए नेपालअन्तर्गतका कार्यक्रम पनि स्थगित भएको जनाएको छ। एमसीसीले फागुन २ गते इ-मेलमार्फत उक्त परियोजना रोकिएको जनाएको अर्थमन्त्री विष्ण पौडेलको सचिवालयको भनाइ छ।

“अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबीच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको छ,” अर्थमन्त्री विष्णु पौडेललेको सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।

एमसीसी कम्प्याक्ट कोषमा अमेरिकाको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी रहेको छ। यो रकम विद्युत् प्रशारण लाइन निर्माण र सडकको गुणस्तर वृद्धिलगायतमा खर्च हुने बताइएको छ।

त्यस्तै, राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशपछि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएडबाट प्राप्त हुने सहयोग पनि रोकिएको छ। यूएसएडबाट प्राप्त सहयोगले नेपालमा खोप, मातृ शिशु सेवा, बालबालिकाको पोषण, सरसफाइजस्ता क्षेत्रमा कार्यक्रम सञ्चालन हुँदै आएका छन्। 

यो पनि : अमेरिकी सहायता रोकिँदा बिथोलिन सक्छ नेपालको स्वास्थ्य सेवा