किटमा नेपाली छात्रा मृत्यु प्रकरण छानबिन गर्न उडिसा सरकारले बनायो उच्चस्तरीय समिति

कलिंगा विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण र त्यसपछि सिर्जित घटनाबारे सत्यतथ्य पत्ता लगाउन उडिसा राज्य सरकारले गृहविभागका अतिरिक्त मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ।

काठमाडौँ– कलिंगा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयकी नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु घटनाबारे सत्यतथ्य पत्ता लगाउन उडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ। 

आइतबार प्रकृतिको शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका नेपाली विद्यार्थीलाई विश्वविद्यालयको होस्टेलका प्रतिनिधिले दुर्व्यवहार गर्दै बलपूर्वक निष्कासन गरेका थिए। उक्त घटनाको नेपाल तथा भारतका विद्यार्थीले विरोध जनाउँदै निष्पक्ष छानबिनका लागि माग गरिरहेका बेला उडिसा राज्य सरकारले गृहविभागका अतिरिक्त मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको हो। 

उक्त समितिको निष्कर्षका आधारमा संलग्नमाथि कानूनी र प्रशासनिक कारबाही गरिने राज्य सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “विद्यार्थीविरुद्ध बल प्रयोगलगायतका दुर्व्यवहारबारे अनुसन्धान भइरहेको छ र जिम्मेवार व्यक्तिहरूलाई कानूनबमोजिम जबाफदेही बनाइनेछ,” विज्ञप्तिमा भनिएको छ, “प्रत्येक विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्न ओडिसा सरकार प्रतिबद्ध छ। ओडिसा सरकारले शीघ्र र निष्पक्ष रूपमा न्याय प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ।”

त्यस्तै, काठमाडौँस्थित भारतीय राजदूतावासले प्रकृतिको मृत्यु र सम्बन्धित घटनाक्रमको सम्बन्धमा ओडिसा सरकारका अधिकारी र केआईआईटीसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ। ओडिसा राज्य सरकारले संलग्न सुरक्षा गार्डलाई पक्राउ गरेको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमले किटका अन्य कर्मचारीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार किट विश्वविद्यालयका महानिर्देशक (मानव संसाधन) शिबानन्द मिश्रा, निर्देशक (प्रशासन) प्रताप कुमार चम्पती, छात्रावास निर्देशक सुधीर कुमार रथलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। यसअघि रमाकान्त नायक र जोगेन्द्र बेहराका रूपमा पहिचान गरिएका दुई सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरुद्ध फौजदारी मुद्दा दर्ता गरिएको छ। 

त्यस्तै राजदूतावासले घटनामा संलग्न देखिएका अधिकारीलाई निलम्बन गरेको, भुवनेश्वरको प्रहरी आयुक्तालयले अभियुक्त विद्यार्थीविरुद्ध फौजदारी मुद्दा दर्ता गरी उनलाई न्यायिक हिरासतमा पठाएको जानकारी दिएको जनाएको छ।

“ओडिसा प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको छ। ओडिसा प्रहरीले केआईआईटी सुरक्षाकर्मीले विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको बारेमा ध्यान दिनुका साथै उनीहरूमाथि फौजदारी मुद्दा दर्ता गरेको छ,” राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ओडिसा प्रहरीले हेल्पलाइन नम्बर +९१-८२८०३३८३०१ साझा गर्दै सहयोगको आवश्यकता परेका नेपाली विद्यार्थीले सम्पर्क गर्न भनेको छ। राजदूतावासका अनुसार केआईआईटीले ‘अनिश्चितकालीन’ आदेश फिर्ता लिँदै नेपाली विद्यार्थीलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपिल गरेको छ। केआईआईटीका उपकुलपतिले पनि आफ्ना कर्मचारीको टिप्पणी र व्यवहारका लागि खेद प्रकट गर्दै सार्वजनिक रूपमा माफी माग्नुका साथै नेपाली विद्यार्थीलाई नियमित शिक्षामा सामेल हुन अपिल गरेका छन्।