प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

२००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ।

काठमाडौँ– देशभर विविध कार्यक्रम आयोजना गरी आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ।

दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुनेछन्। 

कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ। 

२००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ।

प्रजातन्त्रकै जगमा अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।