बेलायतमा एक हजारभन्दा बढी महिला सैनिकले लगाए संगठनभित्रै यौन दुर्व्यवहारको आरोप

तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।

तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेक (अगाडि)

काठमाडौँ– बेलायतमा एक हजारभन्दा बढी महिला सैनिकहरूले संगठनभित्रै आफूहरू यौन दुर्व्यवहारमा परेको आरोप लगाएपछि सेना प्रमुखले सैनिक अधिकारीहरूलाई पत्र लेख्दै यसलाई ‘लज्जास्पद’ भनेर निन्दा गरेका छन्।

बेलायती पत्रिका डेलीमेलअनलाइनले प्राप्त गरेको एउटा पत्रमा, जनरल सर रोली वाकरले यौन दुर्व्यवहारका आरोपहरूबाट आफूलाई ‘घृणित’ तुल्याएको र यस्ता गतिविधि ‘सेनाको मूल्यमान्यता र मापदण्डहरू’ सँग मेल नखाने बताएका हुन्।

तीन वर्षअघि विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी १९ वर्षीया सैनिक (गनर) जेस्ली बेकको घटनाको अनुसन्धानका बीच सयौँ महिला सैनिकले आफूहरू पनि यौन उत्पीडनमा परेका बताइरहेका छन्।

भ्यालेन्टाइन डेको दिन वितरण गरिएको आफ्नो पत्रमा जनरल वाकरले लेखेका छन्, “तपाईंहरू सबैले विगत केही दिनहरूमा सामाजिक सञ्जालमा गनर जेस्ली बेकको दुःखद मृत्युको अनुसन्धानको जवाफमा आएका सन्देशहरू देख्नुभएको छ, यी रिपोर्टहरूले हाम्रो र्‍यांकमा  भयानक र लज्जास्पद व्यवहारका असंख्य आरोपहरू रिपोर्ट भएका छन्।” उनले अझै पनि यस्ता गतिविधि भएको सुन्दा आफूलाई दुःखित तुल्याएको पत्रमा उल्लेख गरेका छन्।

जनरल वाकर र डेलीमेललाई प्राप्त उनले सेनाका उच्च अधिकारीहरूलाई पठाएको पत्र

उच्च अधिकारीहरूले यस विषयमा छलफल गर्न टिमवर्क कार्यक्रम गरिरहेको बताउँदै उनले भनेका छन्, “यदि चेन अफ कमान्डले पर्याप्त काम गरिरहेको छैन वा यसमा सक्रिय रूपमा संलग्न छ भने यो अझ खराब हुन्छ।”

गनर बेकको मृत्युको अनुसन्धान जारी रहँदा, सेनामा सेवा गर्दा सयौं महिलाहरूले बलात्कार, दुर्व्यवहार र उत्पीडनको कथाहरू साझा गरेका हुन्।

सामाजिक सञ्जालमा अज्ञात रूपमा अपलोड गरिएका पोस्टहरूमा पुरुष अधिकारीहरूले महिलाहरूलाई भुइँमा थिचेको आरोपका साथै पुरुषहरूले आफ्ना महिला सहकर्मीहरूको कोठामा जबरजस्ती पस्न खोजेको, बाथरुमबाट निस्किँदा तौलिया खोसेका जस्ता रिपोर्टहरू समावेश छन्।

एक महिला सैनिकले भनेकी छन्, “राति जब उनीहरू (पुरुष सैनिक अधिकारी) ढोका खोल्ने प्रयास गर्थे, म मेरो कोठामा सास रोक्थेँ ताकि उनीहरूलाई म बाहिर छु जस्तो लागोस्।”

अक्टोबर २०२३ मा प्रकाशित सेना सेवाको अनुसन्धान प्रतिवेदनले बेकको मृत्युको कारणलाई उनका हाकिमको यौन दुर्व्यवहारलाई स्वीकारेको छैन। अनावश्यक व्यवहारले निम्त्याएको घटना भनेको छ। बेकको परिवार अझै पनि उनको न्यायको लागि कानूनी लडाइ लडिरहेको छ। प्रहरीले पनि यस घटनामा अनुसन्धान गरिरहेको छ।

बेक १६ वर्षको उमेरमा सेनामा भर्ती भएकी थिइन्। उनी आफूलाई सिपाही हुनुमा गर्व गर्थिन्। बेक सैनिक पेसालाई सम्मान गर्थिन् त्यसैले पनि आफ्नो हाकिमको गतिविधिलाई शुरूशुरूमा उनले बेवास्ता गरेकी थिइन्।

बेककी आमा लेघन म्याकक्रेडिले त्यतिबेला आफ्नी छोरीको आवाज दबाइएको भए पनि अहिले त्यही आवाज बनेर सयौँ महिला सैनिक अगाडि बढेका भन्दै अब कसैले पनि आफ्नो छोरीको जस्तो मौन रुपमा पीडा भोग्नु नपर्ने बताइन्।

आफ्नो परिवारको साथमा गनर बेक

आफ्नी छोरी बेकबारे उनले भनिन्, “उनी एक सिपाही मात्र थिइनन् एक छोरी, एक बहिनी, एक साथी थिइन्, उनी दयालु, उज्ज्वल, जीवनले भरिपूर्ण थिइन्।”

के थियो बेकको घटना?
रोयल आर्टिलरीकी १९ वर्षीया गनर जेस्ली बेक २०२१ डिसेम्बर १५ मा विल्टशायरको लार्खिल क्याम्पमा मृत फेला परेकी थिइन्।

उनको मृत्यु हुनुभन्दा दुई महिना अघिसम्म उनका तत्कालीन हाकिम बम्बार्डियर रायन मेसनको नराम्रो व्यवहारले उनलाई निरन्तर विचलित गरिरह्यो र मानसिक अवस्था र स्वास्थ्यमा असर पर्‍यो। बेकमाथि यौन दुर्व्यवहारको आरोप लागेका बम्बार्डियर मेसनले जागिर छोडिसकेका छन्।

बीबीसीलाई प्राप्त प्रतिवेदनमा मेसनले अक्टोबर २०२१ मा बेकलाई एक हजारभन्दा बढी व्हाट्सएप सन्देश र भ्वाइसमेलहरू पठाएको उल्लेख छ। अर्को महिना तीन हजार ५०० सन्देश पठाएका थिए।

आफ्नो मृत्यु हुनुभन्दा अगाडि जेस्ली बेकले एक सन्देशमा अब धेरै सहन नसक्ने र यो कुरा आफ्नो लागि बोझ बन्दै गएको बताएकी थिइन्।

बेकको घटनाअघि पनि बेलायती सुरक्षा र सशस्त्र बलभित्र यौन दुर्व्यवहारको आरोप लाग्ने गरेका थियो। उक्त घटनाको दुई वर्षअघि बेलायती सांसदहरूको छानबिन प्रतिवेदनले अपर्याप्त उजुरी प्रक्रियाका कारण सशस्त्र बलमा यौन उत्पीडन र बढ्दो यौन दुर्व्यवहारका पीडितहरूले न्याय नपाएको पत्ता लगाएको थियो।