वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भन्दै ७१ लाख ठगी

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट बस्ने ३७ वर्षीय सरन थापा र इलाम सूर्योदय नगरपालिका–१० घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन्।

पक्राउमध्ये सरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रूपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।