मृतक नेपाली छात्राको घटनाबारे अनुसन्धान जारी छ, स्थिति सहज बन्दै छ: राजदूत शर्मा

‘विश्वविद्यालय छाडेर गएका विद्यार्थीका लागि पनि ‘अल्टरनेटिभ’ कक्षा तथा परीक्षाको व्यवस्था हुने र घर गैसकेको अवस्थामा पनि आवतजावतको खर्च बेहोरिने भएको छ।’

काठमाडौँ– गत आइतबार साँझ भारतको ओडिसास्थित विश्वविद्यालय 'कलिंगा इन्स्टिच्युट अफ इन्ड्रस्ट्रियल टेक्नोलोजी' (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भयो। त्यस घटनापछि उब्जिएको तनाव तथा असहज माहोलमाझ दिल्लीस्थित नेपाली दूतावासको भूमिका उल्लेख्य रह्यो। काठमाडाैँस्थित परराष्ट्र मन्त्रालयसहित दूतावासको सक्रियताका कारण केआईआईटी प्रकरण तत्कालका लागि सुल्झिए पनि यसले उठाएका प्रश्नहरू अझै बाँकी नै छन्। यो प्रकरणपछिको यथास्थितिबारेमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासँग उकालोका देवेन्द्र भट्टराईले गरेको संक्षिप्त फोनवार्ता:

झण्डै १४ सय नेपाली विद्यार्थी अध्ययनरत केआईआईटीमा देखिएको असहज स्थिति के अब सुल्झिएको हो?
तत्कालको अवस्थामा केआईआईटीमा नेपाली विद्यार्थीलाई सुरक्षा र संरक्षणको प्रत्याभूति दिलाउँदै भारत सरकार र त्यसमा पनि ओडिसा राज्य सरकारले सम्पूर्ण तहको प्रतिबद्धता जनाएपछि स्थिति सहज बन्दै गएको  छ। यो सहजीकरणका लागि यहाँबाट दूतावासले दुई जना अधिकारीलाई केआईआईटीमा खटाएकै छ। आज मात्रै ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले नियोगका दुई काउन्सेलर प्रतिनिधि (नवीनराज अधिकारी र सन्जीवदाश शर्मा)सँग भेटवार्ता गर्दै सम्पूर्ण स्थिति सामान्यीकरणको प्रतिबद्धता जनाउनुभएको छ। ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग हाम्रो परराष्ट्रमन्त्री आरजु राणा देउवाले कुराकानी गरेको र यसरी सबै तह–तप्काबाट स्थितिलाई सामान्यीकरण गर्ने बारेमा पहल भएपछि आश्वस्त हुने अवस्था आएको छ। विश्वविद्यालयबाट आजै नेपालमा रहेका विद्यार्थी–अभिभावकसँग ‘जुम–मिटिङ’ गर्दै पढाइको निरन्तरता, आसन्न परीक्षाको सहजीकरण र सुरक्षा प्रत्याभूतिमा थप प्रतिबद्धता आएको अवस्था छ। विश्वविद्यालय छाडेर गएका विद्यार्थीका लागि पनि ‘अल्टरनेटिभ’ कक्षा तथा परीक्षाको व्यवस्था हुने र घर गैसकेको अवस्थामा पनि आवतजावतको खर्च बेहोरिने भएको छ। विश्वविद्यालयले थप सुरक्षा र अनुसन्धानको जिम्मा लिएको अवस्था छ। यसकारण, देखा परेको असहज स्थिति र समस्या तत्कालका हकमा सुल्झिएको देखिन्छ।

सुरक्षाको थप प्रतिबद्धता भए पनि नेपाली विद्यार्थी घर फर्कने अवस्था यथावत छ। बुधबार मात्रै जोगबनी र रक्साैल नाकाबाट गरी झन्डै २०० जना विद्यार्थी समूहमा घर फर्किएका छन्। यसबारे पनि सरोकारवालासँग संवाद भयो त?
आवश्यक परामर्श र संवादका लागि हाम्रा दुई जना काउन्सेलर अहिले पनि ओडिसामै हुनुहुन्छ। जहाँसम्म घर फर्किएका विद्यार्थीको सवाल छ, उनीहरू ‘कोलकत्ता कन्सुलेट हुँदै यहाँसम्म आइएको छ, अब केही दिन घर बसेर फर्कने’ भन्दै गएका रहेछन्। शायद आजको जुम–मिटिङपछि घर गएका विद्यार्थीहरू पनि पढाइका लागि चाँडै फर्कनुहुनेछ। पढाइ र परीक्षाको वैकल्पिक व्यवस्था भैसकेका कारण पनि घर गएका विद्यार्थीहरू थप ढुक्क भएका हुन सक्छन्।

अन्त्यमा, एक निर्दोष नेपाली छात्राको मृत्यु भएकोबारे अनुसन्धानका बारेमा के पहल भएको छ?
यस प्रकरणमा जोडिएका कर्मचारीलाई निलम्बन गर्दै कारबाहीमा अदालती प्रकृया अघि बढेको छ। घटना भएको जम्मा ३६ घण्टाकै अवधीमा यसरी आरोपितलाई अदालती कठघरामा उभ्याइएको स्थिति छ। यता राज्यका मुख्यमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री र केन्द्र सरकारसमेत नियमित संवाद–समन्वयमा छ। मृतक छात्राको शव पोष्टमार्टमपछि बुधबार नै घर (बुटवल) पुर्‍याउने प्रकृया अघि बढिसेकेको छ। यत्रो आवाज उठेको र निरन्तर संवाद भैरहेको विषयमा थप अनुसन्धान रोकिएला भन्ने मलाई लाग्दैन। दूतावासले यसबारेमा आवश्यक पहलकदमी जारी राख्नेछ।