तनहुँमा स्वाइन फिभरले १८ बंगुर मरेपछि ओसारपसारमा रोक

तनुहँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो।

तनहुँ– अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बंगुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। यहाँ १८ वटा बंगुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो।

जिल्लामा एक महिनाअघि यस रोगको संक्रमण देखिएको थियो। त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बंगुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए। बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बंगुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको छ।

“केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन्। १२ वटा बंगुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ,” उनले भने।

यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण देखिएको हो। सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ। जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बंगुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। 

यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, संक्रमित भाँडाकुँडा तथा कपडाबाट तथा संक्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन्। महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ। 

उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले संक्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बंगुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बंगुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा. चौधरीको भनाइ छ।