हमासले इजरायललाई हस्तान्तरण गर्‍यो ४ बन्धकको शव

हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार इजरायललाई हस्तान्तरण गरेको छ।

तस्वीर : एयाद बाबा/एएफपी

हमासले चार इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो। 

हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत यी शव हस्तान्तरण गरिएको हो। बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ।

दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास र ओडेद लिफशिट्जको शव फिर्ता समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो। हस्तान्तरणअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चार वटा कालो कफिन प्रदर्शन गरेको थियो। प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको थियो। कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ।

इजरायली सेनाले ‘बन्धकको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ। गाजामा १५ महिनाभन्दा लामो संघर्षपछि इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो ६ हप्ताको प्रथम चरणअन्तर्गत उनीहरूको शव स्वदेश फिर्ता गरिएको हो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार बन्धकको शव फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन भएको बताए। 

युद्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा १९ जना इजरायली बन्धकलाई हमासले रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको छ। पहिलो चरणअन्तर्गत रिहा हुनयोग्य गाजाका बाँकी १४ बन्धकमध्ये आठ जनाको मृत्यु भइसकेको इजरायलले जनाएको छ। 

इजरायली अभियान समूह ‘द होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले बिबास परिवारका तीन सदस्यको मृत्यु भएको खबरले आफूलाई स्तब्ध बनाएको बताएको छ।

बिबास परिवारले पुष्टिका लागि पर्खने बताएको छ। तेल अभिवस्थित नेशनल फरेन्सिक मेडिसिन इन्स्टिच्युटले पहिचान प्रक्रियालाई तीव्रता दिन १० जना चिकित्सक परिचालन गरेको छ।

इजरायल र हमासले यसै हप्ता र अर्को हप्ता दुई समूहमा बन्धक बनाइएका आठ जना बन्धकको अवशेष फिर्ता गर्ने र अन्तिम ६ जना जीवित इजरायली बन्दीलाई शनिबार रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

बन्धकहरूको मञ्चले ती ६ जनाको नाम एलिया कोहेन, ताल शोहम, ओमेर शेम टोभ, ओमेर वेनकर्ट, हिशाम अल–सैयद र एवेरा मेन्गिस्टु रहेको बताएको छ। 

गाजामा दुवै पक्षबाट उल्लंघनको आरोप लागे पनि युद्धविराम जारी छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भग्नावशेषले भरिएको गाजालाई नियन्त्रणमा लिने र २० लाखभन्दा बढीको संख्यामा रहेका प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने विवाद योजना अघि सारेका थिए। उनको यो प्रस्तावको व्यापाक विरोध भइरहेको छ।

इजरायलका विदेशमन्त्री गिदोन सारले युद्धविरामको दोस्रो चरणका विषयमा यसै हप्तादेखि वार्ता शुरू हुने बताएका छन्।