मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गलत लिखत तयार पारेर कम जग्गालाई धेरै देखाइ किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा नापी कार्यालय बाराका तत्कालीन अधिकृतसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– नापी कार्यालय बाराका तत्कालीन अधिकृत दीनानाथ मिश्र र मालपोत कार्यालयका अधिकृत सुमनप्रसाद चौधरीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो।

गलत लिखत तयार गरी एक कट्ठा जग्गालाई तीन कट्ठा बनाई किनबेच गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरूविरुद्ध अख्तियार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले मालपोत कार्यालय, बाराका अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत तथा हाल अवकाशप्राप्त दीनानाथ मिश्र, तत्कालीन सर्वेक्षक तथा हाल नापी कार्यालय, पर्सामा कार्यरत शिवबालक साह, तत्कालीन सर्वेक्षक सुनिल कुमार झा, जितपुरसिमरा–१३ का लेखापढी व्यवसायी जयलाल सहनी, वडा नं. १५ बस्ने जग्गाधनी सुदामाप्रसाद चौधरी थारू र रामपति देवी थरूनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बाराको साबिक डुमरवाना गाविस वडा नं. ६ क को क्षेत्रफल ज.बि. ०–१–० भएको जग्गाको स्रेस्तामा किर्ते गरी क्षेत्रफल ०–३–१० कायम गरी मिलेमतोमा बिक्री गरेको पाइएको अख्तियारले अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ।

त्यस्तै, क्षेत्रफल ज.बि. ०–२–१० भएको जग्गाको स्रेस्तामा किर्ते गरी क्षेत्रफल ०–६–० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारासमेतको मिलेमतोमा स्रेस्ता पुर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार प्रत्येक प्रतिवादीलाई एक लाख पचास हजार रुपैयाँ जरिबाना र कैद सजायको मागदाबी लिएको छ।