शहरी क्षेत्रमा आउने भालुलाई गोली हान्न पाउने कानून बनाउँदै जापान

जापानको मन्त्रिपरिषद्ले जंगली जनावर र मानव मुठभेडका घटना बढेपछि आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ।

जापानको जंगली जनावर र मानव मुठभेडका घटना बढेपछि मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ। सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा देशभर भालुले २१९ जनालाई आक्रमण गरेको छ भने ६ जनाको मृत्यु भएको थियो।

जलवायु परिवर्तनले भालुको खाद्यस्रोत अभावका कारण जनावरहरू आहाराको खोजीमा बारम्बार शहरमा पसी आक्रमण गर्ने क्रम बढेको छ।

आवश्यक प्रक्रियामा प्रशासनिक झन्झटका कारण हुने ढिलाइले जंगली जनावरको आक्रमणबाट मानव जीवन नै जोखिममा पर्ने गरेको व्यापक गुनासोपछि सरकारले संशोधित वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कानूनअन्तर्गत जोखिमका समय ‘आपत्कालीन गोली हान्ने’ अनुमति दिएको हो।

वातावरण मन्त्रालयका एक अधिकारीले एएफपीसँग भने, “वातावरण मन्त्रालयले आगामी महिनामा विधेयक संसद्मा प्रस्तुत गर्ने र शरद ऋतुअघि नै पारित गर्नेछ।” हाल आवासीय क्षेत्रमा भालु वा बँदेलजस्ता जनावरलाई गोली हान्न निषेध गरिएको छ।

जापानमा विद्यमान कानूनी प्रावधानका कारण जनघनत्व भएको क्षेत्रमा भालु छिर्दा पनि यसलाई प्रतिकार गर्न गोली हान्नका लागि प्रहरीले सर्वसाधारणलाई अनुमति दिँदैन। 

“प्रहरीले कुनै व्यक्तिमाथि आक्रमण हुन केही सेकेन्ड टाढा रहेको अवस्थामा मात्र यस्तो आदेश जारी गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने, “हालको नियमअनुसार प्रहरीको स्वीकृति पाउन कोही खतरामा नपरेसम्म पर्खनुपर्ने हुन्छ।”

गत डिसेम्बरमा उत्तरी जापानको एक सुपरमार्केटमा एउटा भालुले दुई दिनसम्म हुलहुज्जत गरेको थियो। यस आक्रमणमा एक ४७ वर्षीय व्यक्ति घाइते भएका थिए। जापानमा सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा नौ हजारभन्दा बढी भालु मारिएका थिए।