रिंकु सदा मृत्यु प्रकरण: जबरजस्ती करणीसहित ४ मुद्दामा अनुसन्धान गर्दै प्रहरी

सिरहाको नवराजपुर–१ भगवतीपुरकी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

सिरहा– सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चार वटा मुद्दामा आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरेका थिए।

कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।

“यस घटनाका विषयमा हामीले शुरूबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ। पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सूक्ष्म अनुसन्धानका लागि झन् सहज भएको छ,” उनले भने।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो।

गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गत मंगलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान शुरू गरेको थियो।

छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए। “घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन्। भिडियो/फोटोबाट पहिचान गरेर खोजी गरिरहेका छौँ,” उनले भने।

रिंकुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे।

यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक संघसंस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा पीडित परिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ।

मृतकका परिवारलाई भेट्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए‍।