निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन संसदीय उपसमिति गठन

राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सदस्यहरू। तस्वीरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई निष्कर्षमा पुर्‍याउन समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ।

समितिको शुक्रबारको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गरेका हुन्। उपसमितिमा सांसद अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन्।

उपसमितिलाई एक महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०’ माथि छलफल चलिरहेको छ।