काठमाडौँमा रोलरको ठक्करबाट १ जनाको मृत्यु

पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङ्तानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार उनलाई पक्राउ गरी शुक्रबार थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ।