म्यानमारको मेवाडीबाट ५ नेपालीको उद्धार

प्रलोभनमा पारी म्यानमार पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका पाँच नेपालीको उद्धार भएको छ।

काठमाडौँ– प्रलोभनमा पारी म्यानमार पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका पाँच नेपाली नागरिकको उद्धार भएको छ। बैंककस्थित नेपाली राजदूतावासका अनुसार उनीहरूलाई थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरिएको हो।

उद्धार गरिएकामा चार पुरुष र एक महिला छन्। उनीहरूलाई टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो। उनीहरूलाई शुक्रबार नै नेपाल फर्काइएको राजदूतावासले जनाएको छ।

पछिल्लो समय विभिन्न प्रलोभनमा पारी नेपाली नागरिकलाई म्यानमारलगायतका देशमा पुर्‍याइ अनलाइन स्क्यामिङमा लगाउने गरेको पाइको भन्दै दूतावासले सचेत गराएको छ। 

कसैको प्रलोभन परी छिटो र धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन राजदूतावासले अनुरोध गरेको हो।

राजदूतावासले सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।