सुनवलको १३२ केभी सब-स्टेसन सञ्चालन भएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो।

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७मा निर्माण गरिएको सुनवल १३२ केभी सब-स्टेसन सञ्चालनमा आएको छ।

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरू र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल १३२ केभी सब-स्टेसनको निर्माण सम्पन्न गरी  सञ्चालनमा ल्याइएको छ।

हाल सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सब-स्टेसनमा भित्रने (लुपइन) र बाहिरिने (लुपआउट) छ। यही १३२ केभी लाइनबाट सुनवल सब-स्टेसनमा विद्युत् आपूर्ति दिइएको छ। सब-स्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टिल, सिमेन्ट लगायतका उद्योगहरू तथा स्थानीय उपभोक्ताहरूले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टिल लगायतका ठूला उद्योगहरू र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सब-स्टेसन मेरुदण्ड भएको बताए।

“अहिले बुटवल सब-स्टेसन बाट लामो र कम क्षमताको ३३ केभी लाइन मार्फत आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताहरूबाट पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुनजस्ता गुनासाहरू आउने गरेका थिए, बुटवल सब-स्टेसन पनि माग धान्ननसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो”, कार्यकारी निर्देशक घिसिङले भने।

सब-स्टेसनमा १३२/३३, ६३ एमभिएका दुई वटा र १३२/११ केभी, २२.५ एमभिएको एक वटा पावर ट्रान्सफर्मरहरू रहेका छन्। सब-स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरू मध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ।

३३ केभीका तीनवटा फिडरहरू मध्ये एउटा बाट सर्वोत्तम सिमेन्ट तथा परासीबजार क्षेत्र, अर्को बाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शीतल नगर सब-स्टेसन र लक्ष्मी स्टिलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले उल्लेख गरे।

अहिले सुनवल सब-स्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सब-स्टेसनको वरिपरि विद्युत आपूर्तिका लागि१ १ केभीका चारवटा फिडरहरू निर्माणाधीन छन्।

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सब-स्टेसन निर्माण गरिएको हो। सब-स्टेसन निर्माणकालागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रम सगगरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभीडबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ।