मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहोर व्यवस्थापन अभियान

मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहोरका कारण प्रदूषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाइएको हो

म्याग्दी– मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहोर व्यवस्थापन अभियान सञ्चालन भएको छ। स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), आमा समूह र युवा क्लबहरूले प्रदूषण न्यूनीकरण गर्न प्लास्टिक, धातु र सिसाजन्य फोहोर व्यवस्थापनमा जुटेका हुन्। एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले पदमार्ग र बस्तीमा नकुहिने फोहोर संकलन गरेर पोखरा पठाउने व्यवस्था मिलाएको जानकारी दिए।   

“हिमाली भूगोल भएको मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहोरका कारण प्रदूषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाएको हो,” उनले भने, “टोल र वडा स्तरमा सिसा र प्लास्टिकजन्य फोहोर राख्ने ठाउँ बनाइएको छ।”

संकलन हुने फोहोरलाई एक्यापले गाडीमा ढुवानी गरेर पोखरा पुनः प्रशोधन केन्द्रमा पठाउने व्यवस्था मिलाएको छ। मुस्ताङको नकुहिने फोहोर व्यवस्थापनका लागि पोखराको ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिसँग सम्झौता भएको छ। ग्रिन वेस्ट म्यानेजमेन्टले फोहोरलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न मिल्ने र अन्य सामग्री बनाउने गर्छ। 

घरपझोङ गाउँपालिका–४ जोमसोम र वडा नं ३ पुथाङमा संकलन भएको एक हजार ९८६ किलो प्लास्टिक, सिसा र टिनजन्य फोहोर यसै हप्ता पोखरा पठाइएको एक्याप जोमसोमले जनाएको छ। यसअघि गत माघ ३ गते घरपझोङको स्याङ र ठिनीबाट ५४ बोरा फोहोर पोखरा पठाइएको थियो।  

गत कात्तिक पहिलो हप्ता चार हजार ५१६ मिटर उचाइमा रहेको थोराङ्ला पासमा प्रहरी र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा करिब ३० बोरा नकुहिने फोहोर संकलन र व्यवस्थापन गरिएको थियो।  

घर तथा होटलमा हुने र सार्वजनिकस्थलका सिसा, प्लास्टिक र टिनजन्य फोहोरलाई संकलन केन्द्रमा राख्ने गरिएको छ। फोहोरका कारण दीर्घकालीन हिसाबले वातावरण प्रदूषण हुनुका साथै वन्यजन्तु र घरपालुवा बस्तुले खाएर उनीहरू बिरामी पर्ने समस्या देखिएपछि व्यवस्थापन गर्न थालिएको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताए।  

एक्यापले यस वर्ष घाँसा, लेते र कोवाङमा थप फोहोर संकलन केन्द्र बनाउने तयारी गरेको छ। घरपझोङ गाउँपालिकाले प्रदूषण नियन्त्रणका लागि सिसाजन्य मदिराको बिक्री वितरणमा कडाइ गरेको र प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोगको अभियान सञ्चालन गरेको अध्यक्ष मोहनसिङ लालचनले बताए।