बजेट अभावले चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाँदा समस्या भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए।

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन्। ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ। कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि चार लाख ३८ हजार रुपैयाँ बजेट निकासा भएको छ। एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख दुई हजार ५०० खर्च रुपैयाँ हुन्छ। साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यसयताको भुक्तानी हुन सकेको छैन।

बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए। निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन्। झन्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो।

“हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्रणमा लिएर थप बाघ राख्ने ठाउँ छैन,” उनले भने। बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए। थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ।

बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन्।