राष्ट्रपतिले प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न तोकेको समयसीमाभित्र नयाँ सरकार बन्ने वा नबन्ने सत्ता गठबन्धनको प्रमुख घटक, माओवादीका अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि गर्ने ‘चलखेल’मा निर्भर हुनेछ।
काठमाडौँ– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले आइतबार आफ्नै नेतृत्वमा सरकार गठनका लागि गृहकार्य गर्ने निर्णय गर्दैगर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरूलाई सात दिनको समयसीमा तोकेर आह्वान गरेकी छन्।
कांग्रेस अहिले प्रतिनिधिसभाको सबभन्दा ठूलो दल हो। र, उसले आफ्नो नेतृत्वमा सरकार बनाउन गृहकार्य गर्ने निर्णय गर्नु अस्वाभाविक होइन। तर, धेरैले आइतबार कांग्रेसले गरेको निर्णयलाई स्वाभाविक मानेनन्। कारण, शनिबारसम्म पनि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चितजस्तै थियो।
कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धन बहुमतनजिक रहेको र एक दुईवटा साना दलको समर्थन जुटाउनसाथ सरकार बन्ने निश्चित थियो।
तर, शनिबार घटनाक्रममा नाटकीय फेरबदल हुने संकेत देखा परे। त्यो संकेतको कारण गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। दाहालले शनिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफू प्रधानमन्त्री बन्नुपर्ने दलिल पेस गरेका थिए। सम्भवतः दाहालको त्यही दलिलकै कारण कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आइतबार आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य गर्ने निर्णय गरेको हो। राष्ट्रपतिले दलहरूलाई दिएको समयसीमाभित्र सरकार बन्न सक्छ कि सक्दैन भन्ने अब दाहालले के गर्छन् भन्नेमा पनि निर्भर हुनेछ।
प्रधानमन्त्रीमा दाहालका आँखा
माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार देउवासमक्ष औपचारिक दलिल मात्र पेस गरेका हुन्। खासमा उनी अब बन्ने सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने कसरतमा पछिल्ला केही सातादेखि नै लागिरहेका छन्।
कतिसम्म भने वर्तमान सत्तागठबन्धन कायमै राखेर प्रधानमन्त्री बन्ने कसरतमा लागिरहेका दाहाल गठबन्धनबाट आफ्नो चाहना पूरा हुने स्थिति नदेखे त्यसको विकल्प खोज्नसमेत तयार देखिन्छन्।
गठबन्धनमा बसिबसी माओवादी नेताहरूलाई पठाएर नेकपा एमालेसँग समेत संवाद गरिरहेका दाहाल प्रधानमन्त्री बन्न ‘जे पनि गर्ने’ मनस्थितिमा देखिन्छन्।
देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गरिरहेका बेला दाहालले औपचारिक रूपमै प्रधानमन्त्रीमा दाबी गरेपछि सरकार गठन प्रक्रिया नै रोचक बनेको छ। शनिबार दाहालले प्रधानमन्त्रीमा दाबी गर्दा भने देउवाले आफ्नो पार्टीभित्र संसदीय दलको नेताको टुंगो लागेपछि यसबारे छलफल गर्ने जवाफ दिएका थिए।
निर्वाचनअघि नै देउवा र दाहालबीच निर्वाचनपछि आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, दाहालले पहिलो कार्यकालमै आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेपछि देउवा दबाबमा परेका छन्। एकातिर पार्टीभित्रै सर्वसम्मत रूपमा दलको नेता चयन हुने स्थिति नबनेका बेला दाहालको प्रस्तावले देउवालाई थप झस्काएको छ।
“आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने विषयमा दुईमत रहेन, तर अब पहिला कसले नेतृत्व गर्ने भन्ने विषय नै प्रमुख हो”, देउवानिकट एक कांग्रेस नेताले भने, “गठबन्धनको आगामी भविष्य र संसदीय राजनीतिले नयाँ मोड पनि लिन सक्ने भयले दुवैजना पहिलो कार्यकालमै प्रधानमन्त्री बन्ने कसरतमा हुनुहुन्छ। यो कसरतले के परिणाम ल्याउँछ, यसै भन्न सकिन्न।”
देउवासँग भेटेर औपचारिक रूपमै प्रधानमन्त्रीमा दाबी गरेका दाहालले सत्ता गठबन्धनको बैठकमा पनि नयाँ सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने प्रस्ताव राख्ने तयारी गरेका छन्। माओवादी केन्द्रले सरकारको नेतृत्वलाई बटमलाइन नै बनाउने रणनीति बनाएको छ।
माओवादी केन्द्रका सचिव राम कार्की गठबन्धनको बैठकमा माओवादीले सरकारको नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने बताउँछन्। “गठबन्धनको एउटा साझेदार दलले १६–१७ महिना सरकार चलाइसकेको छ। अहिलेको अवस्थामा सरकारको नेतृत्व गर्ने गठबन्धनको दोस्रो ठूलो दल माओवादीले नै हो”, उनले भने, “कांग्रेसभित्र धेरै जना प्रधानमन्त्रीका दाबेदार छन्, हाम्रोमा अध्यक्ष बाहेकको दाबेदार कोही छैन।” उनले माओवादीको नेतृत्वमा सरकार बनेमा गठबन्धन पनि थप मजबुत हुने दाबी गरे।
दाहालले प्रधानमन्त्रीमा दाबी गरेपछि प्रधानमन्त्री देउवाले आफूनिकट नेताहरूसँग यसबारे छलफल गरिरहेका छन्। देउवा निकट ती नेताले भने, “कांग्रेसले अहिले नै सरकारको नेतृत्व गर्दा भागबन्डामा राष्ट्रपति र सभामुख छाड्नुपर्ने स्थिति पनि आउन सक्छ। त्यसमा पनि गम्भीर छलफल भइरहेको छ।”
ती नेताका अनुसार अहिले माओवादीलाई सरकारको नेतृत्व गर्न दिएर राष्ट्रपति र सभामुख कांग्रेसले राख्नुपर्ने विषयमा पनि छलफल भइरहेको छ। देउवाको जोड पनि पहिलो कार्यकालमा सरकारको नेतृत्व आफैले गर्नुपर्नेमा छ। आइतबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्नुको कारण पनि यही हो।
माओवादी केन्द्रका महासचिव देव गुरुङ गठबन्धन बैठकमा सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे औपचारिक छलफल शुरू नभए पनि माओवादीले औपचारिक रूपमै आफ्नो दाबी प्रस्तुत गर्ने बताउँछन्। “हामीले सार्वजनिक रूपमा त सरकारको नेतृत्वमा दाबी गरिसक्यौँ, त्यसलाई बैठकमा नराख्ने भन्ने प्रश्नै हुन्न”, उनले भने, “अब त्यही दिशामा छलफल अघि बढ्छ।”
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता संविधानका आधारभूत विशेषतामाथि नै संकट पैदा भएकाले माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने उनको जिकिर छ। “यी सबै उपलब्धिको संरक्षकका हिसाबले पनि माओवादीले नेतृत्व पाउनुपर्छ”, उनले भने, “शान्ति प्रक्रियाको नेतृत्व गरेको हिसाबले गिरिजाप्रसादपछि प्रचण्ड नै हो। जसको विचार उसको नेतृत्व भन्ने हो भने पनि पहिलो हकदार माओवादी हो।”
कांग्रेसले प्रधानमन्त्रीमा दाहालले गरेको दाबीलाई स्वाभाविक रूपमा लिइएको टिप्पणी गरेको छ। आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, “उहाँले इच्छा प्रकट गरेको विषयलाई नेपाली कांग्रेसले अनुचित रूपमा हेरेको छैन।”
यस्तो छ दाहालको दलिल
माओवादी केन्द्रले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ क्षेत्र जितेको थियो भने समानुपातिकतर्फ त्यसमा थप १४ सिट थपेको छ।
प्रतिनिधिसभामा माओवादीका कूल ३२ सदस्य छन्। तेस्रो स्थानमा रहेको माओवादी प्रतिनिधिसभामा कांग्रेस र एमालेपछि सिट संख्याका हिसाबले निकै पछाडि छ। तर, वर्तमान सत्तागठबन्धनमा रहेका दलमध्ये कांग्रेसपछिको दोस्रो ठूलो दल भएकाले सरकारको नेतृत्व आफूले पाउनुपर्ने माओवादीको दाबी छ।
कांग्रेस भने आलोपालो सरकारको नेतृत्वका लागि तयार भएपनि अहिले नै माओवादीलाई नेतृत्व दिन तयार देखिँदैन। कांग्रेसको यस्तो मनस्थिति राम्ररी बुझेका दाहाल प्रधानमन्त्री बन्न त्यसबाहिरको विकल्पमा पनि उत्तिकै लागिरहेका छन्।
उनले कांग्रेसले साथ नदिए गठबन्धन तोड्ने र एमालेसँग मिलेर प्रधानमन्त्री बन्ने घुमाउरो सन्देशसमेत कांग्रेस नेतृत्वलाई पुर्याइरहेका छन्। गठबन्धन कायमै राखेर सरकारको नेतृत्वमा माओवादीको दाबी रहने उल्लेख गर्दै दाहालनिकट एक नेता भन्छन्, “त्यो अवस्था भएन भने अन्य विकल्पमा पनि हामी छलफल गरिरहेका छौँ।”
सिट संख्याका आधारमा कमजोर भएपनि दाहालले गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीदेखि जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसद आफूसँग रहेको भन्दै कांग्रेसमाथि दबाब बढाइरहेका छन्। माओवादीका ३२, एकीकृत समाजवादीका १०, जसपाका १२, नागरिक उन्मुक्ति पार्टीका ३ र प्रभु साहसहितका ३ स्वतन्त्र सांसद मिलाएर ६० सांसद आफूसँग रहेको दाहालको दाबी छ।
दाहालले यसबाहेक एमालेका नेताहरूसँग पनि संवाद बढाइरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफैँले सिधै संवाद नगरेपनि दाहालले पार्टीका तर्फबाट नेताहरूलाई संवाद गर्न पठाइरहेका छन्। केही दिनअघि महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेरै एमाले अध्यक्ष ओलीसँग संवाद गरेका थिए। ओलीनिकट एक नेताका अनुसार माओवादीले अनौपचारिक रूपमा ओलीसहित एमालेका अन्य नेताहरूसँग पनि संवाद अघि बढाइरहेको छ।
माओवादी केन्द्रका सचिव राम कार्की भने गठबन्धनबाहेकको हकमा माओवादीको नेतृत्वमा सरकार बनाउने विषयमा अहिलेसम्म छलफल नभएको दाबी गर्छन्। “कांग्रेसका साथीहरूले सिट संख्याको कुरा उठाइरहेका छन्। त्यसै अनुसार हेर्ने हो भने त देउवाजीलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जितेको थियो नि”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
