ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि एपीले दायर गर्‍यो ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा

राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै एपीले ट्रम्प प्रशासनका ३ अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ। ट्रम्पले मनोनीत गरेका जिल्ला न्यायाधीशलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नदिएको भन्दै मुद्दा दायर गरेको छ। मुद्दाबारे ह्वाइट हाउसका प्रेस सेक्रेटरीले भनिन्, “हामी यसलाई अदालतमा नै हेर्नेछौँ।”

ह्वाइट हाउसले समाचार संस्थाका पत्रकारलाई राष्ट्रपति ट्रम्पका कार्यक्रम, ओभल अफिस र एयर फोर्स वनमा प्रवेश गर्न रोक लगाएको छ। एपीले यो रोकलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै शुक्रबार अपराह्न वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटविरुद्ध दायर गरिको मुद्दामा एपीले भनेको छ, “प्रेस र संयुक्त राज्य अमेरिकाका सबै नागरिकलाई आफ्नै शब्द छनोटको अधिकार छ, सरकारद्वारा प्रतिशोध नलियोस्।”

ट्रम्पले गत महिना एउटा कार्यकारी आदेश जारी गर्दै ‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ बनाएका थिए। एपीले यो नयाँ नाम पूर्ण रूपमा प्रयोग नगरी आफ्नो ‘स्टाइल बुक’अनुसार पुरानो नाम ‘गल्फ अफ मेक्सिको’ प्रयोग गर्नुका साथै ट्रम्पको निर्णयलाई पनि उल्लेख गर्‍यो। त्यसपछि ट्रम्प प्रशासनले कार्यप्रति असन्तुष्टि जनाउँदै फेब्रुअरी ११ देखि एपीका पत्रकारलाई ह्वाइट हाउसका सीमित ठाउँ र कार्यक्रममा रोक लगाएको हो।

राष्ट्रपति ट्रम्पले नै ‘जबसम्म एपीले गल्फ अफ अमेरिका भन्दैन तबसम्म उसका रिपोर्टरलाई ह्वाइट हाउसभित्र छिर्न नदिने बताएका थिए। एपीले यसलाई संविधानको पहिलो संशोधनको उल्लंघन भन्दै मुद्दा दायर गरेको हो।

“एपीको सम्पादकीय स्वतन्त्रता, समाचार संकलन गर्ने तथा रिपोर्ट गर्ने क्षमतामाथि लक्षित आक्रमणले संविधानको पहिलो संशोधनको मूल मर्ममा प्रहार गरेको छ,” एपीले भनेको छ, “अदालतले तत्काल यसको न्यायिक निरूपण गर्नुपर्छ। संविधानको पहिलो संशोधनले प्रेस, वाक् र धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ र सरकारलाई तीमध्ये कुनै पनि अवरोध गर्नबाट रोक्छ।”

ह्वाइट हाउसबाट कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्समा उपस्थित हुने क्रममा शुक्रबार आफूले मुद्दाबारे थाहा पाएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी लेभिटले बताइन्। उनले भनेकी छन्, “हामी यो मुद्दाबारे अदालतमा जवाफ दिने छौँ। हामी सही छौँ र ह्वाइट हाउसमा सत्य र सटीकता कायम राख्छौँ।” 

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी संगठन’को संज्ञा दिएका थिए।