कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनामा ४ नेपाली तीर्थयात्रीको मृत्यु

प्रयागराजमा जारी महाकुम्भ मेलाबाट घर फर्किँदै गर्दा सवारी दुर्घटनामा चार जना नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

सप्तरी–  भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाबाट घर फर्किँदै गरेका चार जना नेपाली तीर्थयात्रीको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। 

उत्तर प्रदेशका गोरखपुर लिंक रोडमा गए राति भएको दुर्घटनामा सप्तरीका तीन  र सुनसरीका एक गरी चार जनाको मृत्यु भएको हो।

कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहरवती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरूप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताए।

सोही गाडीमा सवार लीलावतीका श्रीमान् कञ्चनरूप नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनी–ज्वाइँ र चालकसहित ६ जना घाइते भएका छन्। उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ।‍

शव लिन तीन वटा एम्बुलेन्स लिएर मृतकका छोरा गोरखपुरतर्फ प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले जानकारी दिए।