गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो। पालिकाभित्रका किसानलाई मकैको बीउ निःशुल्क उपलब्ध गराउने योजना छ।
कमलामाई– कोही परिवारसँग भलाकुसारी गर्दै छन्। कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन्। शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन्। तर हरिहरपुरगढी गाउँपालिकाको कृषि शाखामा कार्यरत कर्मचारीलाई भने सार्वजनिक बिदाले छोएको छैन।
‘रामपुर हाइब्रिड–१०’ मकैको बीउ उत्पादनका लागि खेतमै खटिरहेका देखिन्छन्। गाउँपालिकाको कार्यालय परिसरमा रहेको २२ कट्ठा जमिनमा हाइब्रिड मकैको बीउ उत्पादन गर्न लागिएको हो। यसका लागि भाले प्रजनन लाइन (आरएमएल १८) र पोथी प्रजनन लाइन (आरएमएल १५०) छरिएको छ। मंसिर पहिलो हप्तामा छरिएका बीउ अहिले जवान बोटमा परिणत भइसकेका छन्।
यसका साथै पोथी प्रजनन लाइनमा उम्रिएका ‘धानचमरा’ हटाउनुपर्ने छ। हाइब्रिड मकैको बीउ उत्पादन गर्दा भाले लाइनको मात्रै परागसेचन आवश्यकता पर्छ, त्यसैले पोथी प्रजनन लाइनमा उम्रिएका धानचमरा हटाउनुपर्छ। मकैको भाले फूललाई धानचमरा भनिन्छ। निश्चित समयभित्र पोथी लाइनमा उम्रिएका धानचमरा हटाइसक्नु पर्ने भएकाले कृषिका कर्मचारीहरू यस कार्यमा सार्वजनिक बिदाको समेत प्रवाह नगरी जुटेका हुन्। सो कार्य गर्न मकैका लहलहाउँदा बोटहरूले उनीहरूलाई उत्साहित बनाएको छ।
कर्मचारीहरूकाअनुसार धानचमरा हटाउँदा विशेष सावधानी अपनाउनु पर्छ। बायाँ हातले धानचमराको फेद बलियो गरी समातेर दायाँ हातले एकै झट्कामा थुत्नुपर्छ। थुतिएका धानचमरा तुरुन्तै बोरा वा थैलामा राखेर त्यसको व्यवस्थापन गर्नुपर्छ।
रामपुर हाइब्रिड–१० मकैको बीउमा उत्पादन क्षमता राम्रो हुने भएकाले यसको बीउ उत्पादन गरी स्थानीय किसानलाई वितरण गर्ने योजना छ। यसले सिन्धुली जिल्लालाई नै मकै उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताए। “मकैको दानाको अत्यधिक माग भएकाले परम्परागत खेती विधिबाट मात्र यो माग पूरा गर्न सम्भव छैन। यस्तैले हाइब्रिड मकैलाई विकल्पको रूपमा अपनाइएको छ, यसले झन्डै दोब्बर उत्पादन दिन्छ,” उनले भने।
प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र बागमती प्रदेश, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवन, कृषि विकास कार्यालय सिन्धुली र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त प्रयासले हाइब्रिड मकैको बीउ उत्पादन कार्य शुरू गरिएको हो। बिउ खरिदको लागि खर्च हुने ठूलो धनराशि जोगाउन सकिने भएकाले मकैको हाइब्रिड बीउ उत्पादन लार्ज प्लट राखिएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाका प्रमुख राजन ढकालले बताए।
मकैको हाइब्रिड बीउ उत्पादन कार्यले सफलता पाउन लागेको गाउँपालिका प्रमुख वज्रध्वज वाइवाले बताए। “हरिहरपुरगढीलाई हाइब्रिड मकैको बीउ उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने हो। पहिला यहाँ धानबाहेक अरू पाइँदैन भन्ने थियो। अब मकैको बीउ पनि खरिद गर्न आउने बनाउँछौँ,” उनले भने।
पालिकाभित्रका किसानलाई भने मकैको बीउ निःशुल्क उपलब्ध गराउने योजना छ। मकैखेतीको क्षेत्र विस्तार गर्दै यसको उत्पादनमा वृद्धि गरेर स्थानीय किसानको आम्दानी बढाउने गाउँपालिकाको लक्ष्य छ। बाहिरबाट बीउ खरिद गर्ने झन्झटबाट बच्न र मकैखेतीको लागत घटाउन सहयोग पुग्नेमा स्थानीय किसान आशावादी भएका छन्।
नेपालमा मकैखेती तराईदेखि उच्च पहाडसम्म हुने गरेको छ। नेपालको मकैखेती गर्ने कुल क्षेत्रफलमध्ये करिब २० प्रतिशत क्षेत्रफल हाइब्रिड मकैले ओगटेको छ। अझै हाइब्रिड मकैको खेती तराई र भित्री मधेशमा मात्र नभएर मध्यपहाडी क्षेत्रमा पनि व्यापक रूपले विस्तार हुँदै गइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
