जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो। एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो।

तम्घास– रेसुंगा विमानस्थलमा फागुन महिनाभर उडान नहुने भएको छ। विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो।

एयरलाइन्स रेसुंगा कार्यालय प्रमुख सुमन थापाका अनुसार जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो। साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन्। “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो। जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ,” उनले भने, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन।”

रेसुंगा विमानस्थलमा पछिल्लो पटक नेपाल एयरलाइन्सले २०८१ मंसिर २४ मा उडान भरेको थियो। २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झन्डै २० महिनामा ९० वटामात्र उडान भएका छन्। 

उडानमध्ये तम्घास–काठमाडौँ एक हजार १६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेसन इन्चार्ज थापाको भनाइ छ। जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ। विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन्।