एक थिए नरदेन रुम्बा!

दार्जीलिङको पहाडीबस्तीमा नरदेन रुम्बा गुपचुप थिए। तर, उनको प्रतिभा र क्षमता टाढाटाढा फैलिँदो थियो। गीत र शब्दको खोजीमा नरदेनकहाँ गइरहने चन्दन–डेजीले मात्रै दुई दर्जनभन्दा बढी गीत उनीबाट पाएका रहेछन्।

काठमाडौँ– सन् १९६० को वरपर दोर्जेलिङ पहाडमा गुन्जिने एउटै गीत थियो, ‘नौलाखे तारा उदाए!’ जातीय र राजनीतिक चेतनाको आह्वानसँगै नेपालीत्व भावले भरिएको यो गाना निकै लामो समय चल्यो। अगमसिंह गिरी (शब्द) र अम्बर गुरुङ (संगीत–स्वर)को नामकाम यही गीतका कारण त्यो दशगजा पारिको पहाड हुँदै नेपालसम्म आयो, यही गीतको साइनोमा अम्बर काठमाडौँ भित्रिए।

त्यसपछिको लामो रिक्ततामा फेरि एउटा धुन गुन्जिएको थियो— काकझोडा हुँदै पहाडी गाउँबस्तीमा। जातीय विवेकले भरिएको शब्द थियो—‘गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ, भोकै मर्ने लाहुरेको देश सोध्नै भुलेँ!’ लगत्तै अर्को भाका सुनियो— ‘शुभकामना खालीखाली दिनेलाई दानी भनेर, जाँदैछु लिएर आँचलभरि मायाको निशानी भनेर।’

अनि खोजी शुरू भयो, यो दुर्लभ गीतकारको। रेकर्डमा बज्ने गीतमा गायक/गायिकाको नाम आउँथ्यो, गीतकार वा संगीतकार को/के भन्ने प्राय थाहा हुन्नथ्यो। “यति राम्रा शब्द लेख्ने शब्दकार को रैछ त भनेर खोज्न निस्किँदा दार्जीलिङको सिटी हस्पिटलमा एकजना टीबी रोगका बिरामी छन् रे, तिनै हुन् रे भन्ने कुरो थाहा भयो,” काठमाडौँमा गीत–संगीतको अर्को मेहफिल जमाउन दार्जीलिङबाट आइपुगेका डेजी बराइली र चन्दन लोमजेलको जोडा सामुमा बसेर गफिँदै थिए, “अनि पो थाहा लाग्यो, उनी त नरदेन रुम्बा (तामाङ) पो रहेछन्। अनि नरेदनसँग बिस्तारै हिमचिम बढेपछि हाम्रा लागि पनि नरदेनले गीत लेखिदिन थाले, त्यहीकारण हामी पनि थप चिनियौँ।” 

यो सन् १९७८ को शुरूआती महिनाकै कुरा हो। साइभक्त भएका कारण साइभजन गाइरहने, घरमा रहेका हारमुनियममा मेजर–माइनर स्केल खेलिरहने र सकेसम्म नयाँ शब्द (भाव)मा गीत लेखिरहने नरदेनको स्वभाव थियो। साथीभाइ नि सिमित थिए, घर वा दफ्तर अड्डामैं व्यस्त रहन्थे उनी। मनमिल्तीका मछिन्द्र प्रधान, लोकराज मनेन, टासी वाङचुक, जगत क्षेत्री आदि निकटका साथीसँग बातचित पनि चलिरहन्थ्यो।

अनि, उभ्रिएको समयमा भने कुनै लोकल होटलमा छिर्थे—एक/दुई गिसाल मदिरा पिएर मात्रै उनी बाटा लाग्थे।

***

यसरी दशगजा पारी दोर्जेलिङबाट अनेक तरतिवका गीत–संगीत खबर लिएर आउने डेजी बराइली यसपटक डल्लै आफ्नै परिवार (बाबु, आमा र छोरी) लिएर फेरि काठमाडौँ उत्रिएकी छन्। सन् २००६ देखि शुरू भएको यो आतेजातेमा ‘भैँसी लड्यो है मायाँ’को ट्यागलाइनले सधैँजसो डेजीलाई पछ्याएको थियो, तर योपालाको खबर भने अलिक भिन्न छ। 

“यसपाला पुरापुरी नरदेनज्युका नाममा हामी यहाँ आएका हौँ, उहाँले लेखेका र चन्दनज्यूबाट कम्पोज भएका रेकर्डमा नआएका (धेरैजसो) गीत सुनाउन र रेकर्डमा राख्न हामी यता आइपुगेका छौँ,” कालिकास्थानस्थित नेपालय कार्यालयमा भेटिएकी डेजीले आफ्ना संगीतकार श्रीमान चन्दन र गायिका छोरी बिमोचनातिर देखाउँदै भनिन्, “यसपाला डल्लै नरदेन रुम्बा पलेँटी हो, सम्मान र सम्झनासहित !”

कोरा भावुकताभन्दा शब्दमा एकखालको औडाहा र भाव बोकेर गीत लेख्ने नरदेनलाई चन्दन–डेजीले भेट गर्दा ती भर्खरै बाइस–पच्चिसेझैँ देखिन्थे। भारतीय स्टेट बैंकका कर्मचारी रहेछन् नरदेन। अलिक अन्तर्मुखी पनि हो कि? संगत र सम्बन्ध बनेपछि हरेक आइतबार (बैंक छुट्टीका दिन) चन्दन काकझोडा जाने गर्थे, नरदेन संगतीका लागि। “पेपर–पेन ल्याएका छौ के?,” भेटपछिको चियापानमा नरदेनले सोध्ने पहिलो जिज्ञासा यही हुन्थ्यो। अनि, धेरैजसो नरदेन स्थायी लेख्थे, अन्तरा सार्न सामु बसेका चन्दन वा पुरण गिरीलाई दिन्थे।

पहिलो लटमा १९७८ अप्रिलसम्म नरदेन हस्पिटलमा बसे। त्यसपछि घर पुगे, श्रीमती–छोरासँगै। “पहिलोपटक नरदेन दाइको घरमा पुगेका थियौँ, म र पुरण,” चन्दन सम्झिन्छन्, “छिनभरमैँ सफा अक्षरमा लेखिएको कागजको पाना पाइहालेँ जहाँ थिए, मन–मस्तिष्क हल्लाउने शब्दहरू...”

‘यो मन नै जलिसकेपछि
मलाई आगो के धुवाँ के
विश्वास चुँडिसकेपछि
मलाई आँधी के बतास के!’

अनि के चाहियो र? ‘राम्रा र गतिला शब्द नभइकन संगीत गर्नु हुन्न है’ भाइ भनेर उनै नरदेनले सम्झाइरहेका हुन्थे तारन्तार। कति गीतहरू कम्पोजिसन धुन सुन्नासाथै लेख्थे नरदेन, कति भने संगीतमय टाइपमा आफै लेखेर दिन्थे। त्यसबेला नै उनको ‘बादलुको दरबारमा पहाडको मेला’ गीतले धुम मच्चाइसकेको थियो। २०३८ सालमा काठमाडौँमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत स्पर्धामा नरदेनको यो गीत धनन्जय थापाको संगीत र सूर्य थुलुङको स्वरमा प्रथम बनेको थियो। लगत्तै प्रताप सुब्बाको ‘बाँच्न चाहनेहरू’ फिल्ममा लागि नरदेनकै गीतको मोहनी जोडिएको थियो, शान्ती ठटालको संगीतमा। अरु गीति–गेडा पनि नरदेनको नाममा थपिँदा थिए— अरुणा लामाको स्वरुमा ‘फूललाई सोधेँ’। यसमा कर्म योन्जनको संगीत छ। 

“अमर राईको ‘शुभकामना’ नाटक मञ्चन गराउने टोलीमा म संगीतकारका रूपमा सन् ८० को अन्त्यतिर म काठमाडौँ आएको थिएँ,” चन्दनले सम्झिए, “अनेक तारतम्य राष्ट्रिय नाचघरका प्रमुखसमेत रहेका गायक नारायण गोपाललाई आफूले साथमा ल्याएका पाँच वटा गीत सुनाउन पाएको थिएँ। त्यसमा नरदेनकै गीत छान्दै नारायण गोपालले भन्नुभएको थियो—अरुणाले गाएको ‘फूललाई सोधें’ लेख्ने उही नरदेन रुम्बा होइन त?”

त्यही मौकामा नरदेनको गीत ‘मेरा सबै रातहरू’ नारायणगोपालले रोजेर रेडियो नेपाल (रत्न रेकर्डिङ)मा रेकर्ड भएको थियो। “मेरा लागि नारायणज्यूले गीत गाइदिनू आफैमा एउटा पर्व थियो। त्यसमाथि शुभबहादुर, दिव्य खालिङ, प्रकाश गुरुङ, गोपाल योन्जन, मदन परियार जस्ता साधकका माझ गीत रेकर्ड भएको थियो,” चन्दन भन्छन्, “त्यसमाथि त्यो गीतको कम्पोजिसन हारमुनियममा सुनाइरहँदा उहाँ ‘बराँतहरु भए’मा गएर तीन/चार पटक रोकिँदै फेरि गाउन लगाउनुभएको थियो। एउटा शब्दको प्रयोग, विविधता र विशिष्टता सम्झाउने काम उहाँले गर्नुभएको थियो।”

सांगीतिक परिवार : चन्दन लोमजेल, विमोचना लोमजेल र डेजी बराइली।

अरुभन्दा पनि नारायण दाइले काठमाडौँमा बराँत शब्दमा राखेको ‘मन’ र सिकाएको पाठ दार्जीलिङ फिरेर गीतकार नरदेन रुम्बालाई पनि सुनाएका रहेछन्, चन्दनले। त्यो गीत केही महिनापछि मात्रै दार्जीलिङ आइपुग्यो, ‘ब्लुनोट’ क्यासेटमा। “चोकबजारको एउटा क्यासेट पसलमा नरदेन दाइलाई पनि लिएर गएँ, अनि त्यो गीत सुनाएँ,” चन्दनले सम्झिए, “हामी दुबै खुशीले थामिनसक्नु भावुक भयौँ। यसरी पहाडी पाखामा रमाइरहेका एउटा गीतकार र संगीतकारलाई नारायण गोपालले साथ दिनु कम्ति भाग्यको कुरा थिएन।” 

तर, दुर्भाग्य नारायण गोपाल र नरदेन रुम्बाको भेट भने कहिल्यै भएन। नरदेन टीबी (क्षयरोग) रोग र आफ्नो अव्यवस्थित दैनिकीमाझ दिनहुँ गल्दै गएका थिए। नारायण गोपाल पेमलासँगको मायाप्रेम र काठमाडौँको अत्याउने धपेडीमाझ बेठेगान ‘म त आफैलाई हराइ आफै खोज्दै हिँड्छु’झैँ हविगतमा थिए। 

***

नरदेन गीत र कवितामा मात्रै थिएनन्। उनी कट्टर साइभक्त थिए, भजन गाइबस्ने। हिउँदे छुट्टीको बिदामा नगरपालिका स्कुलमा नानीहरुलाई निशुल्क पढाउँथे पनि। नरदेनले केही कविता अंग्रेजीमा पनि लेखेका रहेछन्। पाब्लो नेरुदा र अल्बेयर कामुका कतिपय रचना अंग्रेजीबाट नेपालीमा अनुवाद गरेर उनले स्थानीय नेपाली पत्रिकामा छपाएका थिए। नेपालीमा लेख्ने बिन्दिया सुब्बा र नोर्जाङ स्याङदेनका रचना अंग्रेजीमा अनुवाद गराएर छापेका थिए। नाटक लेखनमा पनि लागेका उनको नाटक ‘मृगतृष्णा’ त प्रताप सुब्बाले निर्देशन गरेका थिए। चन्दनका अनुसार, सुरेन थिंग, पुरण गिरी, कमल रेग्मी, मदन पोद्धार, बद्रीदुर्गा खरेल, मणिकमल क्षेत्री, टासी वाङचुक, दावा ग्याल्मो, धर्मेन्द्र नेम्बाङ, पवन गोले, किरण वाइवा, राम गुरुङ, दिनेश सुब्बासहितका थुप्रै प्रतिभाको कतिपय काम र सृजनामा नरदेनको चिनारी जोडिएकै छ। 

“चिनजानी बढेपछि म पनि एकपटक दाजुसँग गीत माग्न गएकी थिएँ,” डेजीले सुनाइन्, “चन्दन लोमजेलको सन्दर्भ जोडेर कुराकानी गरेपछि दाजुले त बसेकै ठाउँमा पानामा लेखेर गीत दिइहाल्नुभयो। अचम्मै लाग्ने! त्यो गीतले मेरो चिनारीको डल्लै अर्को आयाम थपिदियो नि!” यति भनिसक्नसाथै चन्दनले सुनाइहाले, स्थायी मुखडा —

“कति बग्यो कति बग्यो
पुलमुनि पानी रेशम
आशैआशमा बितेछ यो 
छोटो जिन्दगानी रेशम !”

अर्को एउटा साइत थियो— २७ जुलाई। गोर्खाल्यान्ड आन्दोलनको स्मृति दिवस भएकाले बाहिर–बाहिर जुलुस, आन्दोलन चर्केको थियो। कलाकार जीवन गुरुङ र चन्दन स्टेट बैंक गएका थिए, नरदेनलाई भेट्न। ‘अभिनय’ नामको फिल्मको कथामा लेख्ने गीतको पृष्ठभूमि सुनाउने मेलो थियो त्यहाँ। 

अनि कथा शुरू हुन्छ। एउटा दृश्यमा केटाकेटी सँगै हिँडिरहेका हुन्छन्, केटाले खुबै मन पराउने केटी थिइ त्यो। तर, केटीलाई थाहै थिएन। छिनभरमैं केटीले भन्छे— “म एउटा खुशीको कुरा लिएर आएकी छु।”

केटाले सोध्छ— के होला ?

अनि केटीले ‘मेरो बिहामा आउनुस् है’ भन्दै ब्यागबाट एउटा कार्ड झिकेर दिन्छे। “हो, त्यो कार्ड यसो पल्टाएर हेर्दै गर्दाको मुडमुद्रामा गीत चाहियो,” जीवनले अनुरोध गरे।

अनि शुरू हुन्छ भन्ने र, लेख्ने काम तु.। बाहिर पुलिस गाडी कुदेकै छ, हाहाहुहु जारी छ। भित्र चिया दोकानको आडमा गीत–संगीतको कुरा छ। “ल पन्ना ल्याको छौ? टिपीहाल त,” नरदेनले भने। अनि शुरू भइहाल्यो गीत—

“कस्तो यो खुशी दियौ तिमीले
म किनकिन दुःखीदिएँ 
जब बहार आयो तिम्रो यहाँ 
म किनकिन सुकीदिएँ।
कस्तो यो पर्खाल दियौ तिमीले
म किनकिन ढलीदिएँ
कस्तो यो उजेलो दियौ तिमीले
म किनकिन लुकीदिएँ।”

‘अरू थपौँला, यसलाई ट्युनिङ शुरू गरौ है,’ भन्दै नरदेन रुम्बा बैंकको आफ्नो कार्यकक्षतिर लागे। यो गीत पनि यसपाला पलेँटीमा सुन्न पाइने भएको छ— डेजी–बिमोचनाको स्वरमा।

अर्को, एउटा अवसरमा आँशु–गीतकार शैलीमा नरदेनले टिपाएका थिए— ‘कसैले सोधे, कुन हो तिम्रो गाउँ…’!

लोकसंगीत भाकामा लेखिएको यो गीतमा उही नेपाली जीवनशैली र नेपालीत्वको कथा छ, यसलाई गायक अमृत गुरुङले गाएका छन्। यो क्यान्टाटाको एक अंश पनि हो, चन्दनका अनुसार। 

के नरदेन रुम्बा सधैँसधैँ निराश थिए ? प्रश्न झर्न नपाउँदै चन्दन–डेजीले यो सरोकार सुन्नै चाहेनन्। “निराश, उदास होइन होला। त्यो उहाँको स्वभाव थियो, भित्र अर्कै खालको हुटहुटी थियो,” चन्दनले सम्झिए, “तर, एउटै कुरा— किन पिउने काम अलिक ज्यादा भयो, त्यो भने थाहा हुन सकेन। परिवारमा सधैँ मिल्ती देखिन्थ्यो। यत्ति हो कि नरदेन दाज्युले लेखेका भरमा कहिल्यै पनि आनासुकी कमाएको थाहा भएन। उहाँको आफ्नै रुचि र सपनाले मात्रै नरदेन रुम्बा बनाएको हो।”

***

यसरी दार्जीलिङको पहाडीबस्तीमा नरदेन रुम्बा गुपचुप थिए। तर, उनको प्रतिभा र क्षमता टाढाटाढा फैलिँदो थियो। गीत र शब्दको खोजीमा नरदेनकहाँ गइरहने चन्दन–डेजीले मात्रै दुई दर्जनभन्दाबढी गीत उनीबाट पाएका रहेछन्। यही रहस्य पहिल्याएर संगीतकर्मी एवं पलेँटी संयोजक आभाषले चन्दन परिवारलाई फेरि पनि पलेँटीमा ल्याएका रहेछन्। अहिलेसम्म नसुनिएका, रेकर्ड नभएका गीतहरू जसले नरदेनको थप व्यक्ति–कृति बाहिर ल्याउनेछ, ती सिर्जनामा यसपटक चन्दन–डेजी र बिमोचना रम्ने भएका छन्— पलेँटीमा।

“अन्ता मलाई के लाग्छ ने नरदेन दाजुले बिघा–बिघा उर्वर जमिन मलाई दिएर जानुभएको रहेछ जस्तै अहिले फिल भइरहेको छ। अमुल्य दाम भएको यो जमिन मेरा निम्ति पितापुर्खाको नासोझैँ बनेको छ,” फेरि पनि नरदेनसँगका उठबस र गीत–संगीतको संगत सम्झेर चन्दन भन्छन्, “यसपाली हामी नरदेन रुम्बाको पुर्नजन्ममा यहाँ आएका हौँ, हामी माध्यम मात्रै हौँ। यो पुरापुर रिबर्थ अफ नरदेन रुम्बा हो।”

रुम्बा सम्झनेबित्तिकै कुरा थिए कतिकति। कतिले त गीतसंगीत भन्नासाथ रौसिने र गलाले उति साथ नदिए पनि हाइ–स्केलमा ट्युनिङ सुनाइहाल्ने चन्दनलाई त्यसमाथि कसैले नरदेन रुम्बा मात्रै सम्झाइदियो भने अनेकथोक हुने रहेछ। ‘नरदेन रुम्बा चढ्यो उसलाई भन्छन् साथीहरुले’,छेवैमा बसेकी डेजीले सुनाइन्।

ती प्रतिभाका नाम नरदेन रुम्बाको ४१ वर्षे उमेरमैँ निधन भयो। सन् १९९० मे २८ मा उनले देह त्यागे। त्यसअघिको एउटा ताजा घटना पनि अझै भन्न बाँकी छ। त्यही साल जनवरी २६ मा चन्दन एक्लै नरदेन निवासमा गएका थिए। रोगले थलिएको बोधमा शायद मृत्युबोध पो थियो कि? नरदेनले त्यो दिन पनि धेरै कुरा नघुमाई सधैँझैँ पानामा लेख्न लगाए, थोरै रोकिँदै। जीवन–मृत्युको कटु सत्यझैँ त्यो गीतमा शब्दहरू उस्तै बिझाउने थिए, गीतको अंशले भन्छ—

“म मरेर खाली हुँदैन धर्ती
नरुनु तिमी देखेर मेरो अर्थी

...

जब शंख बज्छ बिदाइको
म लड्न गएको सम्झ
अब एक्लै कुनै एउटा
शिखर चढ्न गएको सम्झ”

नरदेन रुम्बाले लेखेको पुरापुरी गीतका अर्थमा यो उनको अन्तिम गीत हो। यो पनि यसपाला पलेँटीमा डेजीले सुनाउनेछिन्। कोरा भावनाका शब्दार्थ भन्दा निकै गहिरो जीवन– जगत र अस्तित्वमा रमाउने रुम्बाको प्रतिनिधित्वलाई त्यही फरक अर्थमा यसपटक पलेँटी गायन र गीत रेकर्डमा ल्याउन चाहेको संयोजक आभाषले बताए। “आउने दिनमा रुम्बासँग जोडिएका अरू गायक र संगीतकारका सृजना पनि पलेँटीमा जोडिँदै जानेछन्,” उनले भने। 

फेरि पनि कुराकानीको बिट मार्ने बेलामा चन्दनले सम्झन चाहेका थिए— त्यही ‘बराँतहरु’ जस्तै पृथक शब्दावली। एउटा प्रेमगीत–गजलको फुर्कोमा रुम्बाले लेखेका रहेछन्— दिलफेक! के हो त यो दिलफेक? 

‘‘झर्रो नेपालीमा भन्छन् नि बाल–मतलब, केयरलेस,’’ चन्दनले फेरि पनि सुनाए, छोरी बिमोचनाले गाउने एउटा गीतको मुखडा जहाँ कस्तो स्वाद पर्ने कथा र शब्द–चयन लुकेको छ। गीतले भन्छ— 

“लेखेको थिएँ चिठ्ठी एउटा चुमेको पानाभरि
कोलाहल भो कस्तो अनौठो, सारा  जमानाभरि

..

हाँसिछ कति, सबलाई भनी बजार बनाई त्यो चिठ्ठी
च्यातिछ अनि टुक्राटुक्रा हजार बनाइ त्यो चिठी 
‘दिलफेक’ मलाई हरे के थाहा
चक्कर रहेछ उसको मीठो अर्कै निशानाभरि।”