सवारीबाट ओर्लने बित्तिकै विशेष मनुवालाई पिर्के नै भए पनि सलामी चाहियो। अद्वितीय मानवका लागि अन्य औसत अतिथिभन्दा घच्याक्क परेको पीत-सिंहासनमा विशेष गद्दा चाहियो।
यो युग प्रचारको हो। तुरतुरे धाराको होस् या सडकको खाल्डो पुरपारको। उद्घाटन र शिलान्यास बेजोडको चाहियो। कडा बोलेर होस् या छाडा बोलेर मिडियामा ‘बाइट’ चाहियो। टिकटक, युट्युब र फेसबुकभर छाउने ‘पन्च’ चाहियो। ताल मिलेका तुक्का चाहियो, विपक्षीलाई भरमार शब्द-मुक्का चाहियो। चाइँचुइँ नबोल्नेको यस जुगमा कामै छैन, बेलुन र पटका फुटाएरै भए पनि चर्चा चाहियो। विकास परियोजना होस् या महोत्सव त्यसबारे पहिल्यै मिडिया र सामाजिक सञ्जालमा हंगामा चाहियो।
धुलो र हिलोमै हुर्केका हामी वीर जाति, तिर्पालले खाल्डाखुल्डी र गन्धे नाली पुरपार गरेर भव्य मञ्च खडा गर्दै त्यसमै 'दुर्गेश मार्का'का कर्कश स्वर र चिच्याहटलाग्दा गाना चाहियो। प्रमुख अतिथिलाई हँसाउन र नचाउन सक्ने 'राष्ट्रियस्तरका उधुम कलाकार' चाहियो। अभूतपूर्व कार्यक्रममा पाउकष्ट गरेका दिग्विजयी महात्माहरूलाई खादा-माला, प्रशस्ति, स्तुति र धुपधुवाँरको सम्मान चाहियो।
सत्कार यस्तो चाहियो, अतिथिलाई महसुस होस्–'न भूतो, न भविष्यती यस्तो खातिरदारी यो लोकमा पाइयो।' धार्नीका धार्नी माला अतिथिलाई पहिर्याएर, मञ्चमा धुवाँ फैलाएर या स्याम्पुका फोका उडाएर या जाँड हाल्न बनाइएका घैँटो फुटाएर, कार्यक्रममा 'लास्टै नवीनता' चाहियो।
नानी जन्मेला, नजन्मेला तर नानी जन्माउने पूर्व तयारीबारे लोकलाई विस्तृत जानकारी चाहियो।
यो पनि: फजुल खर्चमा संघदेखि प्रदेशसम्म यसरी बग्दैछ सरकारी बजेट
'उद्घाटन' गराउन सकेसम्म ठूलो आयतनको, 'केन्द्र'मै प्रादुर्भाव भएको, कुनै सम्राट या शासकको झल्को दिन सक्ने अद्भुत मानव चाहियो। बारीको पाटाको तोरी या गहुँबालीमा हेलिकप्टर उतारेर, त्यति नसके हुंकार गर्दै सन्डमुन्डसहित गाडीको लावालस्कर लिएर आउन सक्ने खास कोही चाहियो।
सवारीबाट ओर्लने बित्तिकै विशेष मनुवालाई पिर्के नै भए पनि सलामी चाहियो। अद्वितीय मानवका लागि अन्य औसत अतिथिभन्दा घच्याक्क परेको पित-सिंहासनमा विशेष गद्दा चाहियो। त्यस विराट मानवलाई सुनाउन बाजागाजा र कर्ताल चाहियो। स्वस्तिका लागि बटुक-ब्राह्मण चाहियो। पानस, कलश, जलदानी र आचमानी पनि विशेष चाहियो। स्वागतार्थ पञ्चकन्या चाहियो, तिनका लागि विशेष पोसाक र शृङ्गार चाहियो।
स्थानीय स्तरकै फूलपातका तोरण र सजावटले दिग्विजयीहरूको इज्जत धान्न सक्दैन, अतः बजारबाट ल्याएका प्रदूषक प्लास्टिकका पताका र धजा चाहियो। पोलिस्टरका ढाकाबुट्टे खादा-टाला चाहियो। मायाको चिनो नामका केही थान काठका 'ठेउकादि' चाहियो! दर्जाअनुसारका तोक्मा यसैउसै चाहियो।
कर्मका लागि साह्रै अल्छी हामी कर्मकाण्डका मामलामा साह्रै रौसे र उदार छौँ। कर्मकाण्डका लागि प्रशस्त बजेट चाहियो। 'पर्यटन महोत्सव'को फुर्को कार्यक्रममा जोडिदिए भइहाल्यो, स्थानीय तह र पर्यटन प्रवर्द्धनका लागि खुलेका सरकारी अड्डाहरूबाट द्रव्य सहजै पाइयो। फोटो खिच्नु र पोस्ट्याउनु नै त हो आजको दिनको प्रचार र प्रवर्द्धन! सामाजिक सञ्जालमा शेयर, भ्युज र 'वाहु' पाइयो।
तर उद्घाटन गर्न आउनेलाई उद्घाटनमा के–के हुँदैछ, आफूले के गर्दै छु भन्नेबारे समेत पूर्वजानकारी चाहिएन। उद्घाटन नै केको हो भन्नेबारे समेत खासै थाहा चाहिएन। आखिर परेवा उडाउनु या रिबन काट्नु न हो। मालाले पुरिएर अरूलाई बर्को लगाइदिनु वा चारकुने कागज दुनियाँलाई दिनु न हो। चौतारोको उद्घाटनमा आएर खोलाको बखान गर्दैमा पनि दिग्गजहरूको जाने नै के हो र?
तर यत्ति हो कि कार्यक्रममा 'आज यो अभूतपूर्व स्टेजमा देशकै भव्य व्यक्ति, ढिस्कानो विशेष अतिथि, उत्पात अतिथि र प्रमुख अतिथि पाल्नुभाछ' भन्ने खालका स्तरीय विशेषणसहितको भव्य शब्द चयन चाहियो। मञ्चभन्दा तल ट्वाल्ल परेर बसेका रैतीहरूबाट तालीको गडगडाहट चाहियो।
स्टेजमा आफूसँग कोको नारिन आए, कुन कुन टोले गुन्डा, ठग र तस्करले आएर आफूसँग फोटो खिचेर भोलिका दिनमा त्यही फोटो देखाएर दुनियाँलाई तर्साउँछ भन्नेबारे पनि चासो चाहिएन।
नलेखिएको मात्र हो, उद्घाटन र शिलान्यासको सिंगै शास्त्र लेख्न पुग्ने कृत्य, हरकत र तामझामका थेगिनसक्नु निकट स्मृति छन् हामीसँग छन्। अब छिटै 'उद्घाटन-शिलान्यास कर्मकाण्ड' शास्त्रको शीघ्र प्रकाशनसमेत चाहियो।
काममा रोचकताभन्दा थकाइ र अल्छ्याइँ ज्यादा छ। काम गर्दै गरौँला तर त्यसको चर्चा व्यापक चाहियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
