यूएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

अर्थ समितिको बैठकमा सांसदहरूले यूएसएडमार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड)मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन्।

अर्थ समितिको आइतबारको बैठकमा सांसद गंगा कार्कीले यूएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखिन्।

“यूएसएडमार्फत नेपालको वित्तीय संघीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपतिले नै ‘फ्रड’ हो भन्नुभएको छ। अनौपचारिक रूपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारी पाएको छ। यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ”, सांसद कार्कीले भनिन्।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा यूएसएडको सहयोगलाई ‘फ्रड’ भनेका हुन् त्यसबारे झ्नुपर्ने बताए। उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको र त्यसलाई सबै दलले संसद्बाट पारित गरेको विषय पनि उठाए। अर्थ समितिमा छलफलको क्रममा रहेका विधेयकमाथि चाँडो छलफल गरेर टुंगोमा पुर्‍याउनुपर्ने पनि उनको भनाइ छ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले बोलेको विषयमा समितिमा नभई संसद्मा छलफल गरिनुपर्ने बताए। “ट्रम्पले भनेका विषयमा यहाँ छलफल आवश्यक छैन। यो समितिभन्दा पनि संसद्को विषय हो”, उनले भने, “यूएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रालयसँग विवरण माग गर्न सकिन्छ। यसबारे लिखित पत्राचार गरौँ र मन्त्रालयसँग विवरण मागौँ।”

त्यस्तै, अर्थ समितिको बैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने गरेको तथा समितिका कामको प्रभावकारिता न्यून देखिएको विषय पनि उनले उठाए।