१ हजारभन्दा धेरै चिहानमा ‘क्यूआर कोड’ देखिएपछि प्रहरी अनुसन्धान गर्दै

यी स्टिकर पहिलो पटक गत वर्षको अन्त्यतिर म्युनिखका चिहानहरूमा देखिएका थिए। त्यसपछि, पछिल्ला हप्ताहरूमा एकाएक धेरै देखिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो।

एक हजारभन्दा बढी चिहान र काठका क्रसहरूमा क्यूआर–कोड स्टिकर देखिएपछि जर्मनीको म्युनिख शहर रहस्यको सामना गरिरहेको छ। ती क्यूआर–कोड कसले र किन लगायो भन्ने कुरा थप रहस्यमयी बन्दै गएपछि स्थानीय प्रहरी अनुसन्धानमा खटिएका छन्।

समाचार एजेन्सी एपीका अनुसार यी स्टिकर पहिलो पटक गत वर्षको अन्त्यतिर म्युनिखका चिहानहरूमा देखिएका थिए। त्यसपछि, पछिल्ला हप्ताहरूमा एकाएक धेरै देखिन थालेपछि प्रहरीले अनुसन्धान थालेको हो। ती स्टिकर म्युनिखका प्रमुख तीन चिहानघारी वाल्डफ्रिडहफ, सेन्डलिङ्गर फ्राइडहफ र फ्राइडहफ सोलनमा देखिएका हुन्। ५×३.५ सेन्टिमिटरका ती स्टिकर स्क्यान गर्दा मृतकको नाम, थर र चिहान भएको स्थान मात्र देखाउँछ।

“हामीले यसको पछाडि कुनै कारण फेला पारेका छैनौँ,” प्रहरी प्रवक्ता क्रिश्चियन ड्रेक्सलरले भने, “क्यूआर स्टिकरहरू दशकौं पुरानो चिहानका ढुंगाहरू र नयाँ चिहानहरूमा पनि टाँसिएका छन्।” चिहानमा कसैले स्टिकर टाँसेको देखेमा सम्बन्धित चिहान प्रशासनलाई सम्पर्क गर्न प्रहरीले सूचीत गरेको छ।

प्रहरीले भनेका छन् कि स्टिकरहरू हटाउँदा केही चिहानहरूमा क्षति पुगेको छ। रंग पनि खुइलिएको छ। त्यसैले दोषीहरू सम्पत्ति क्षतिको लागि जिम्मेवार हुन सक्ने प्रहरीको भनाइ छ।

“यो साँच्चै अनौठो घटना छ,‍” शहरका चिहानहरूको व्यवस्थापनको निरीक्षण गर्ने बर्नड होरौफले गत हप्ता भनेका थिए। “हामीले सोच्यौं, यस प्रकारको स्टिकरको अर्थ के हुन सक्छ?”

यसले दुई दशकभन्दा पुरानो घटनालाई ताजा गरेको छ। सन् २००४ मा, पश्चिमी जर्मनीको बोचुम शहरमा रहेको यहुदी चिहानघारीका चिहानहरूमा पनि स्टिकरहरू फेला परेका थिए। ती स्टिकरहरूले प्रमुख नाजी नेता रुडोल्फ हेसको सम्झना गर्थे, र नजिकैको शहरमा भएको अतिदक्षिणपन्थी प्रदर्शनसँग जोडिएको विश्वास गरिएको थियो।

अहिले म्युनिखका चिहानमा देखिएका स्टिकर घटना राजनीतिक तथा धार्मिक रूपमा सम्बन्धित छ/छैन भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धान गरिरहको छ।

जर्मनीमा आइतबार आम चुनाव भइरहेको छ। यसअघि, म्युनिखमा पटकपटक भएका प्रदर्शनमा लाखौँ मानिस उपस्थित थिए। उनीहरूले अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) विरुद्ध सडकमा निस्किएका थिए। साथै निष्पक्ष चुनावको माग गरेका थिए। चुनावी पोलमा एएफडी दोस्रो स्थानमा रहेको छ।