अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको छ। लुसेल रंगशालामा आइतबार राति सम्पन्न कतार विश्वकप २०२२ को फाइनल खेल फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले तेस्रोपटक उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो।

निर्धारित ९० मिनेटको समयमा अर्जेन्टिना र फ्रान्सबाट २-२ गोल भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको हो। थप गरिएको समयमा पनि दुवै टोलीबाट १-१ गोल भएपछि विजेता पेनाल्टी सुटआउटबाट छिनोफानो गरिएको थियो। अर्जेन्टिनाका लागि लिओनल मेस्सी,  पाउलो डिबाल र लिआन्ड्रो परेडेस र गोन्जालो मोन्टिएलले गोल गरे। फ्रान्सका केलियन एम्बाप्पे र कोलो मुआनीले गोल गरे। किंग्सले कोमन र ओरेलियन टचौमेनीले पेनाल्टी मिस गरे।

त्यसअघि खेलमा कप्तान लिओनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले २३औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए। पेनाल्टी बक्समा एन्जेल डि मारियालाई फ्रान्सका ओस्मान डेम्बेलेले लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए। कप्तान मेस्सीले कुनै गल्ती नगरी बल सिधै गोलपोस्ट छिराए।

३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अग्रता दोब्बर बनाए। मेस्सीले म्याक अलिस्टरलाई बल पास गरे। म्याक अलिस्टरले डि मारियालाई बल पास गरे। डि मारियाले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।

तर, फ्रान्सले खेलमा लगातार दुई गोल गर्दै पुनरागमन गरेको थियो। फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले ८०औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए। उनले अर्को मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयमा थपेएको थियो। त्यसको पहिलो हाफ कुनै टोलीबाट गोल हुन सकेन। अन्तत: अतिरिक्त समयको दोस्रो हाफ (१०८औँ मिनेट)मा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अग्रता दिलाए।

तर, खेल सकिन २ मिनेट बाँकी हुँदा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। र, खेल पेनाल्टी सुटआउटमा पुग्यो।