यस्तो छ सोमबारको माैसम पूर्वानुमान

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडाैँ– अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरुमा हुस्सु लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। सोमबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। यी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यी तीनै प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, राति पनि कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।