जर्मनीको आम चुनावमा कन्जर्भेटिभ सीडीयू बन्यो ठूलो दल, को बन्ला चान्सलर?

आर्थिक र कूटनीतिक संकटको बीच कन्जर्भेटिभ पार्टीका नेता फ्रेड्रिक मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्।

फ्रेड्रिक मर्ज

जर्मनीमा आइतबार सम्पन्न आम चुनावमा कन्जर्भेटिभ पार्टी तथा मध्य–दक्षिणपन्थी गठबन्धन सीडीयू/सीएसयू (क्रिश्चियन डेमोक्रेटिक/सोसल युनियन) देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ।

यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको छ। पार्टीका नेता फ्रेड्रिक मर्जले खुसी व्यक्त गर्दै भने, "हामी उत्सव मनाइरहेका छौँ।"

अमेरिकी राष्ट्रपति ट्रम्पले सीडीयूलाई बधाई दिएका छन्। "यो जर्मनी र अमेरिका दुवैका लागि ठूलो दिन हो। अमेरिका जस्तै, जर्मनहरू पनि ऊर्जा र आप्रवासन सम्बन्धी बेतुका नीतिहरूबाट दिक्क छन्," उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा लेखे। 

यी नतिजाहरूमा युरोपेली नेताहरूबाट पनि प्रतिक्रिया आउन थालेको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरले भने, "म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र हाम्रा दुई देशहरू बीचको पहिले नै बलियो सम्बन्धलाई अझ बलियो बनाउन तयार छु।"

उनले बेलायत र जर्मनीले दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन्।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जलाई बधाई दिएका छन् र दुवैले बलियो युरोपको लागि मिलेर काम गर्ने बताएका छन्।

यद्यपि, पार्टीले पूर्ण बहुमत भने प्राप्त गर्न सकेको छैन, जसका कारण यसले गठबन्धन सरकार बनाउन चुनौतीको सामना गर्नेछ।

अर्कोतर्फ, अति दक्षिणपन्थी पार्टी एएफडीले २०.६ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थान बनाएको छ। यो उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो र यो गत पटकको भन्दा लगभग दोब्बर मत प्रतिशत हो। ट्रम्प निकट अमेरिकी उद्योगपति एलोन मस्कले यस पार्टीलाई खुलेआम समर्थन गरेका थिए र चुनावअघि यसका नेताहरूलाई धेरै पटक भेटेका पनि थिए।

यस्तै, सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) तेस्रो स्थानमा आएको छ। तर कुनै पनि पार्टीसँग बहुमत नहुँदा संसदमा ठूलो पार्टीले सरकार बनाउन गठबन्धन गर्नुपर्नेछ। त्यसैले फ्रेड्रिक मर्जका लागि चान्सलरको कुर्सी अझै टाढा छ। गठबन्धनलाई अन्तिम रूप दिएपछि, बल्ल उनले पहिलो पटक सरकार चलाउने मौका पाउनेछन्। मर्जले भने, "जर्मनीले फेरि एक पटक स्थिर सरकार पाउनेछ।"

आर्थिक र कूटनीतिक संकटको बीचमा मर्जले अब गठबन्धन गठन गर्ने कठिन चुनौतीको सामना गर्नेछन्। गठबन्धनको विकल्प संसदमा कति दल पुग्छन् भन्ने कुरामा निर्भर गर्नेछ।

मर्जले अति-दक्षिणपन्थी एएफडीका समर्थकहरूलाई आफ्ना नीतिहरूको विकल्प प्रस्ताव गरेर आकर्षित गर्ने प्रयास गरेका छन्, तर चुनावमा एएफडीको बढ्दो शक्ति उनको लागि नयाँ चुनौती हुन सक्छ।

मेर्टेजले जनवरीमा संसदमा आप्रवासनमाथि कडा अडान लिन प्रस्ताव पेश गरेका थिए, जुन एएफडीको समर्थनमा मात्र पारित भएको थियो। यसले उनको पार्टी भित्र पनि विवाद सिर्जना गर्‍यो। केही उदारवादी नेताहरूले यो सीडीयूको पहिचान विरुद्ध भएको बताएका थिए।

सरकार गठन हुन हप्तादेखि महिनौं लाग्न सक्छ। हालको अनुमान अनुसार, एसपीडीसँगको गठबन्धन बहुमतको सरकार गठन गर्ने एक मात्र सम्भावना हो, तर वैचारिक भिन्नताले वार्तालाई जटिल बनाउन सक्छ। युरोपेली संघमा जर्मनीको भूमिका, युक्रेन युद्धका नीतिहरू र चीनसँगको व्यापार सम्बन्ध गठबन्धन वार्तामा प्रमुख मुद्दाहरू हुनेछन्।

जर्मन सार्वजनिक प्रसारक एआरडीसँगको अन्तर्वार्तामा मर्जले गठबन्धनको सम्भावनाबारे गरेको छलफलमा उनले भने, "अब म सम्पूर्ण देशको प्रतिनिधित्व गर्ने र जर्मनीको समस्या समाधान गर्ने सरकार बनाउने प्रयास गर्नेछु।" 

यसका साथै उनले एएफडी विकल्प नभएको पनि बताए। "त्यो सरकार कस्तो देखिनेछ भन्ने कुरा अझै निर्णय भएको छैन," मर्जले भने, "तर यो कुनै गोप्य कुरा होइन कि म दुई जनाको सट्टा एउटा गठबन्धन साझेदारलाई प्राथमिकता दिन्छु। र एएफडीसँग गठबन्धन विकल्प होइन। उनका समर्थकहरूलाई पहिले नै त्यो थाहा थियो र अझै पनि उनलाई मतदान गरे।"

गठबन्धन चाँडै गठन भएन भने जर्मनीमा राजनीतिक अस्थिरता बढ्न सक्ने राजनीतिक विज्ञहरू बताउँछन्। यसले सम्पूर्ण युरोपको अर्थतन्त्र र विश्वव्यापी बजारलाई पनि असर गर्न सक्ने उनीहरूको भनाइ छ।

–एजेन्सीहरूको सहयोगमा