दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार मोहना अन्सारीलाई

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृतिकेन्द्रको बैठकले यो वर्षको पुरस्कार मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिने निर्णय गरेको हो। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ।

काठमाडौँ– राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिलाई दिइने दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार २०८१ सालका लागि मानव अधिकारकर्मी मोहना अन्सारीलाई दिइने भएको छ।

दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृतिकेन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको बैठकले यो वर्षको पुरस्कार अन्सारीलाई दिने निर्णय गरेको महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले त्यही वर्षदेखि पुरस्कार दिन थालेको हो।

यसअघि यो पुरस्कार ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, सत्यमोहन जोशी, तुलसीराम वैद्य, दिनेशराज पन्त, मोदनाथ प्रश्रितले पाइसकेका छन्। त्यस्तै, प्राडा सुरेशराज शर्मा, प्राडा सुरेन्द्र केसीलगायतले पुरस्कार पाएका छन्।

यो पुरस्कारको राशी ५० हजार रुपैयाँ छ। आगामी फागुन १७ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा अन्सारीलाई पुरस्कार अर्पण गरिने स्मृतिकेन्द्रको विज्ञप्तिमा उल्लेख छ।

स्वर्गीय दण्डपाणि अर्ज्यालको जन्म १९६३ सालमा गोरखामा भएको थियो। उनी शिक्षासेवी र इतिहासविज्ञ थिए। त्यस्तै, ज्योतिषशास्त्र र संस्कृति पनि उनको अध्ययनको क्षेत्र थियो। नन्दकुमारी उनकी पत्नी हुन्।