नेप्से परिसूचकमा ३.३५ अंकको वृद्धि, ११ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको छ भने ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

काठमाडौँ– शेयर बजारमा ६ कारोबार दिनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार वृद्धि देखिएको छ। अघिल्लो आइतबारबाट बढ्ने क्रममा रहेको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको हो।

नेप्सेका अनुसार सोमबार परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको हो। नेप्से परिसूचकमा वृद्धि देखिए पनि कारोबार रकम भने सामान्य घटेको छ।

यस दिन ३१० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख तीन हजार २६२ पटक खरिदबिक्री हुँदा ११ अर्ब आठ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार ११ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा बैंकिङ ०.०८, लगानी ०.९८, उत्पादन तथा प्रशोधन ०.९७ र अन्य समूहको उपसूचक २.५० प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक ०.०९, वित्त १.२१, होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.१५, जीवन बीमा ०.९२, लघुवित्त ०.६३, म्युचुअल फन्ड ०.५७, निर्जीवन बीमा ०.७४ र व्यापार समूह ०.२६ प्रतिशतले घटेको हो।

गार्डियन माइक्रो लाइफइस्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ८९ करोड ३५ लाख ३८ हजार ९५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा घलेम्दी हाइड्रोको १५ लाख ६ हजार १६१ कित्ता खरिदबिक्री भएको छ।