म्यानमार पुर्‍याइ ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप २ नेपालीको उद्धार

आर्थिक प्रलोभनमा पारी म्यानमार पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप दुई जना नेपालीको उद्धार भएको छ।

काठमाडौँ– आर्थिक प्रलोभनमा पारी म्यानमार पुर्‍याइ ‘अनलाइन स्क्यामिङ’मा लगाइएका थप दुई नेपाली नागरिकको उद्धार भएको छ।

बैंककस्थित नेपाली राजदूतावासका अनुसार म्यानमारको मेवाडीबाट उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई थाइल्यान्ड सरकारको सहयोगमा मेवाडीबाट टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएको थियो।

उद्धार गरिएका दुवै जनालाई सोमबार स्वदेश फर्काइएको राजदूतावासले जनाएको छ। यसअघि शुक्रबार पनि म्यानमारको मेवाडीबाटै पाँच नेपाली नागरिकको उद्धार भएको थियो।

पछिल्लो समय आर्थी प्रलोभनमा पारी नेपाली नागरिकलाई म्यानमारलगायतका देशमा पुर्‍याइ अनलाइन स्क्यामिङमा लगाउने गरेको पाइको भन्दै राजदूतावासले सचेतसमेत गराएको छ।

राजदूतावासले तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन अनुरोध गरेको छ।