बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

बागलुङ प्रहरीका अनुसार घाइतेमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अरू घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्लाको बडिगाड गाउँपालिका–७ भीमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीया खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा चढ्न समस्या देखिएपछि रोकेर ओट लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ। 

दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। घाइतेमध्ये एक जनाको पहिचान खुल्न सकेको छैन।

यादवका अनुसार घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ। अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए ।  जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।