बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन्। ग्रामीण क्षेत्रबाट झरेर करिडोर आसपासमा व्यापार व्यवसाय गर्ने क्रम पनि बढेको छ।

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ। 

झण्डै १४ वर्ष अघि शुरू भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ। करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन्।

ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन्। नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म ४९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमी पर्छ। 

करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको दैनिकीमा परिवर्तन ल्याएको स्थानीय बताउँछन्। बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटलगायत क्षेत्रमा बस्ती बस्न थालेका छन् भने करिडोर स्तरोन्नतिसँगै कालोपत्र हुँदै गएपछि सवारीसाधन सञ्चालन हुने थालेका छन्। 

ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरवाहलगायत मुलुकका ठूला सहरसम्म पुग्न सहज भएको छ। गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारीकरण गर्न सहज भएको स्थानीय किसान श्रीसले बताए। “कालीगण्डकी करिडोरले हाम्रो गाउँलाई सुगम बनायो, दिनानुदिन गाडी ओहोरदोहोर गर्छन्, यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन्, पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार/पाँच घण्टामा पुग्न सकिन्छ,” उनले भने, “करिडोरले यो क्षेत्रका नागरिकको जीवनशैली बदल्न थालेको छ।”

जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले करिडोर सञ्चालनमा आएपछि भारतीय पर्यटक बढ्न थालेको बताए। भारतबाट मुक्तिनाथ जाने धेरैजसो पर्यटक जैमिनी धामको दर्शन गरेर जाने गरेकाले आर्थिक चलायमान हुन थालेको उनले बताए। 

स्थानीय सरकारले पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसार गर्नसके बाह्य पर्यटकलाई तान्न सकिने थापाको भनाइ छ। अहिले दैनिक बुटवलबाट जैमिनीसम्म सिधा यातायात सञ्चालन हुँदा सामान ढुवानी र यात्रा गर्न सहज भएको छ। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले दक्षिण बागलुङ समृद्धिसँग जोड्न कालीगण्डकी करिडोरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। 

“हिजो सुनसान रहेको ठाउँमा अहिले धमाधम बजार बस्न थालेका छन्,” उनले भने, “यो रुट धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना छन्, नगरपालिकाले पनि करिडोरबाट लाभ लिनेगरी योजना बनाइ रहेको छ।”

करिडोरले जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किमी क्षेत्र जोडेको छ। नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म ४९५ किमी रहेको करिडोर बागलुङको मालढुंगासम्म २४० किमी लामो छ। 

मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरवाह र भारतसम्म पुग्ने यात्रासमेत यसले छोट्याइदिएको छ। करिब १४ वर्ष अगाडि निर्माण शुरू भएको करिडोर आयोजना हालसम्म बागलुङ खण्डमा ७५ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ।