शनिबारे भेटघाटदेखि उत्सवसम्म: सोचको सीमा भत्काउने चौतारी

शनिबारे भेटघाटमा हुने बहस र मेरा विद्यमान मान्यताबीच आनको तान फरक परे। मेरो परम्परागत पहाडे राष्ट्रवादको जब्बर बुझाइलाई त्यहाँका बहसले ठाडै चुनौती दिए। कहिलेकाहीँ आफैलाई थुम्थुम्याउनु पर्‍यो।

२०७१ फागुन पहिलो साताको मंगलबार साँझ ८ बजे झापाको बिर्तामोडबाट प्रसारण हुने कञ्चनजंघा एफएममा ओजपूर्ण आवाज गुञ्जियो। प्रत्येक मंगलबार बज्ने ‘फोन–इन्’ कार्यक्रमको प्रतीक्षामा बसेको मैले रेडियो खोल्न केही ढिलो गरेँछु। सधैँ बज्ने फोन–इन् नभई अर्कै संवाद चलिरहेको थियो। 

कार्यक्रमका संचालक दीपेन्द्र पौडेल थिए। एफएमको ‘क्याचमेन्ट’ क्षेत्रमा उनी लोकप्रिय मानिन्थे। संवादमा जोडिएका व्यक्तिको आवाज प्रस्तोताको भन्दा निक्खर सुनिएको थियो। ती व्यक्तिको नाम थाहा पाउन मैले केही बेर कुर्नुपर्‍यो। उनी थिए उज्ज्वल प्रसाई।

प्रसाई त्यसबेला काँकडभिट्टामा केही दिनपछि आयोजना गरिने कला साहित्य उत्सव कस्तो कार्यक्रम हुनेछ भनेर बताउँदै थिए। उत्सवमा काठमाडौँबाट नाम कहलिएका लेखक, कवि, कलाकार आउँदै थिए, स्थानीय उम्दा वक्ताहरू पनि तयार थिए। उत्सवमा प्रवचन सुन्न सकिने, समूहमा छलफल हुने, हलभित्र कार्यक्रम सुन्न अल्छी लागे बाहिर निस्केर चित्रकला र फोटो प्रदर्शनी हेर्न सकिने प्रसाईले जानकारी दिए। लेखक, कविसँग प्रत्यक्ष संवाद गर्न सकिने भनेर लोभ्याए।

प्रसाईले वर्णन गरिरहेको यो उत्सव कस्तो कार्यक्रम हो भनेर ठम्याउन मलाई हम्मे परिरह्यो। दुई वर्षपहिले नै यस्तै प्रकृतिको कार्यक्रम भइसकेको बताउँदै, यसपटक अझ उन्नत हुने उनी दाबी गर्दै थिए। जति बुझेँ, त्यसका आधारमा अनुमान लगाएँ, झापातिर चलिरहने कविता गोष्ठी र भाषणबाजीका कार्यक्रमभन्दा पक्कै भिन्न होला।

त्यसबेला म स्नातक तह अन्तिम वर्षमा थिएँ। प्रसाईलाई पत्रिकामा आक्कलझुक्कल पढेको थिएँ। रिर्डस झापाबारे भने म अनविज्ञ थिएँ। त्यही कार्यक्रममा जानकारी गराए बमोजिम फागुन दोस्रो सातामा हुने कार्यक्रमको कार्यतालिका टिपोट गरेँ र सहभागी हुने निधो गरेँ। रेडियोमार्फत पाएको निम्तो मान्न काँकडभिट्टा खानेपानी उपभोक्ता समितिको प्रांगण र सभाकक्षमा पुग्दा पो छक्क परेँ। उहिल्यैदेखि सुन्दै र पढ्दै गरेका खगेन्द्र संग्रौला, सिके लाल, प्रदीप गिरि, नारायाण वाग्ले, सुधीर शर्मा, सीमा आभास र स्थानिय रंगकर्मी पवन राजवंशी  एकै मञ्चमा देखिए। 

तीन दिनसम्म चलेका अनेक सत्रले मेरो मनमा आँधीबेहरी नै ल्याए। यसै त एकैपटक एउटै थलोमा यतिका लेखक, साहित्यकार र विद्वानहरु पहिलोपटक भेट्दै थिएँ, त्यसमाथि कार्यक्रममा उठाइएका विषयको गहनता र विविधताले मथिंगल हल्लाए। 

२०६५ सालबाट पढ्ने, छलफल गर्ने र पेचिला विषयमा जमेर बहस गर्न सक्ने युवा भेला हुन थालेका रहेछन् काँकरभिट्टामा। हरेक शनिबार बौद्धिक अन्तरक्रिया गर्ने उद्देश्यका साथ शुरू भएको रिडर्स झापाले २०६९ सालमा पहिलो उत्सव सम्पन्न गरिसकेको रहेछ। म २०७१ सालको उत्सवमा पुगेको थिएँ। त्यस पटक ‘विचार मेला’ आयोजना गरिएको थियो। सो उत्सवमा भएका बहस र छलफलबाट झंकृत भएको म त्यसपछिका शनिबारे भेटघाटमा जान थालेँ।

उत्सवले भन्दा हरेक शनिबार हुने बौद्धिक घर्षणले मलाई अझै झंकृत तुल्यायो। त्यहाँ भएका बहस र मेरा विद्यमान मान्यताबीच आनको तान फरक परे। मेरो परम्परागत पहाडे राष्ट्रवादको जब्बर बुझाइलाई त्यहाँका बहसले ठाडै चुनौती दिए। कहिलेकाहीँ आफूलाई थुम्थुम्याउनु परे पनि म बहसमा सहभागी भइरहेँ। कस्ता अचम्मका कुरा गर्दारहेछन् भन्ने लागेरै हुनसक्छ, सहभागी हुन छाडिनँ। 

बिस्तारै हिजो नपढेका किताब पढ्न थालेँ, हिजो बेवास्ता गरेका विषयमा सोच्न थालेँ। धेरै साता त्यसरी सहभागी भएपछि, आफैँलाई प्रश्न गर्न सक्ने भएँ। मैले विश्वास गरेका अनेक मान्यता कसरी बनेका रहेछन् र तिनले मलाई कस्तो मान्छे बनाइरहेका रहेछन् भनेर बुझ्न थालेँ। इतिहास, समाज, विकास प्रक्रिया, राज्यबारेका पुराना मान्यता परिवर्तन हुन थाले। जनावार, खोला, नदी, सिमसार, रूख, चरासमेतको उपस्थितिमा मात्रै हाम्रो मानव समाज र सभ्यता सम्भव छ भन्ने फरक बुझाइमा पुग्न थालेँ। हिजो सारै चित्त परेका विचार कति साँघुरा रहेछन् भनेर थाहा पाउने भएँ।

म रिडर्स झापाको सदस्य भएर बदलिएँ। त्यसबेला कतिपय विषय त हामी आफैँले पाठ्यक्रम नै बनाएर पठन गोष्ठी सञ्चालन गरेका थियौँ। ‘पृथ्वीनारायणअघिको नेपालको इतिहास’, ‘शहर र उपभोग’, ‘सिनेमा र समाज’, ‘जलावायु संकट र सामाजिक आन्दोलन’, ‘आख्यानका गाउँ’ जस्ता विषयमा ‘रिडिङ सेमिनार’ भए। यी सबै विषयका पढाइपछि गरिने छलफलले मलाई आफ्ना सीमा देखाए। निरन्तर अध्ययन एवं अध्ययनका आधारमा गरिने अन्तरक्रिया किन महत्त्वपूर्ण रहेछ भन्ने बुझाए। 

अर्को रोचक पक्ष के थियो भने, रिडर्स झापामा अन्य संस्था जस्तो टिकट काटेर, पैसा तिरेर सदस्य बन्ने चलन थिएन। नियमित छलफलमा सहभागी भएपछि सदस्य भइन्थ्यो। कहिलेकाहीँ चियाखाजा खाने पैसा आपसमा उठाउने चलन भने थियो। पठन सामग्री ‘प्रिन्ट’ वा फोटोकपी गर्नुपरे त्यसैगरी आपसमा पैसा उठाउने चलन थियो। त्यस संस्थामा अध्यक्ष, उपाध्यक्षको सोपानको अर्थ थिएन, औपचारिक कागजातमा बाहेक कसैले को अध्यक्ष भनेर न सोध्थ्यो, न कोही एक जना नेता भएको भान हुन्थ्यो। निरन्तर सहभागिता नै सदस्यताको आधार थियो। कार्यक्रम इत्यादिका निर्णय प्रक्रियामा सामेल हुने आधार पनि सक्रिय सहभागिता नै थियो। 

म एक वर्ष निरन्तर सहभागी भएँ। त्यसपछि अध्ययनको सिलसिलामा काठमाडौँ आएपछि पनि संस्थाका अन्य सदस्यको निरन्तर सम्पर्कमा रहेँ। २०७३ र २०७५ सालमा भएका दुई उत्सवमा सक्रिय सहभागी भएँ। रिडर्स झापामा पुगेर मैले गरेको बौद्धिक संगत जीवनभरका लागि गहिरो सिकाइ भएको छ, संस्था सञ्चालनका स्वस्फुर्त तरिकादेखि लोकतान्त्रिक निर्णय प्रक्रियाको अभ्याससम्म, सोपानतन्त्र बेगरको सहभागितादेखि निरन्तर अध्ययनको महत्त्वसम्म। त्यति मात्रै होइन, रिडर्स झापाका सदस्यका रूपमा गरेका अध्ययनले मलाई आफ्नो उच्चशिक्षामा र अध्यापनमा पनि ठूलो टेवा पुर्‍याएको छ।

अहिले रिडर्स झापा फेरि अर्को उत्सवको तयारीमा जुटेको छ। देशभरि भइरहेका दर्जनौँ साहित्य  महोत्सवमा राम्ररी नसमेटिएको अत्यन्त महत्त्वको विषय पर्यावरणलाई कला साहित्य उत्सवको पाचौँ अंकको मुख्य विषय बनाइएको छ। पर्यावरण भनेर केवल रोमान्टिक भएर प्रकृतिको गुणगान गर्ने मात्रै होइन, आममान्छेका दैनन्दिनका सवाल जोडेर पर्यावरणीय संकट बुझाउने उद्देश्यले कार्यक्रमको डिजाइन गरिएको प्रष्ट छ। कार्यक्रमको खाका हेर्दा मलाई लाग्यो, केही वर्ष अघिदेखि रिडर्स झापामा भएका विकास र उपभोगबारेका आलोचनात्मक विमर्शको निचोड स्वरूप यो विशेष उत्सवको आयोजना भएको रहेछ।

यसपटक टाढाबाट उत्सव हेर्नुपर्ने बाध्यतामा छु। मुलुकबाहिर आएका बेला पनि रिडर्स झापामा बिताएका ती क्षण बरोबर स्मृतिमा आइरहेका छन्। उत्सव फागुन १४ देखि १६ गतेसम्म काकरभिट्टामा हुँदैछ। सबै बहसमा टाढैबाट भए पनि सहभागी हुन आतुर छु।