पर्यावरणका भिन्न आयाम बुझ्न भिन्न पुस्तक पढ्नुपर्छः डा. उत्तमबाबु श्रेष्ठ

‘पुस्तकको प्रभाव समयक्रममा फेरिँदो रहेछ। गज्जब लागेका पुस्तक पछि अर्को राम्रो पढेपछि औसत लाग्दो रहेछ। धेरै विषयमा रुचि हुँदा पढेका पुस्तकहरू बिर्सने, सूचना मिसमास हुने समस्या पनि भएको छ।’

अनुसन्धानमा सक्रिय संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लनरी स्टडिज’ ( जीआईआईएस) का संस्थापक निर्देशक हुन् डा. उत्तमबाबु श्रेष्ठ। संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालय, म्यासाचुसेट्स बोस्टन विश्वविद्यालय, मेन विश्वविद्यालय, जर्मनीस्थित म्युनिखको प्राविधिक विश्वविद्यालय र अस्ट्रेलियाको दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालयमा काम गरेपछि, नेपाल फर्किएर उनी जीआईआईएसको सहसंस्थापक भए। उनले अमेरिकाको म्यासेचुसेट्स बोस्टन विश्वविद्यालयबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका छन्। उनी रिडर्स झापाको आयोजनामा फागुन १४ देखि हुने कला साहित्य उत्सवमा ‘पर्यावरण संकट र नेपाल’ विषयका वक्ता हुन्। यही सन्दर्भमा श्रेष्ठसँग उकालोका उपेन्द्र अर्यालले गरेको पर्यावरण पुस्तक वार्ताः

विश्वमा नै अहिले पर्यावरणबारे छलफल चलिरहेको छ। आमपाठकले पर्यावरणीय संकटबारे सजिलोसँग बुझ्न कस्ता सामग्री पढ्न आवश्यक छ?

पर्यावरणका बहुआयामहरू छन्। पर्यावरण परिवर्तनशील पनि भएकाले अतीत, वर्तमान र भविष्यका कुराहरू हुन्छन्। भौगोलिक हिसाबले पनि वातावरणका चासो र चिन्ता फरक हुन्छन्। पर्यावरणसँग मानिसको जीविका, जनस्वास्थ्य, अर्थतन्त्र, राजनीति, सामाजिक अवस्था र कहिलेकाहीँ भूराजनीति तथा कूटनीति पनि जोडिएको हुन्छ। पर्यावरणीय न्यायका मुद्दाहरू पनि छन्। त्यसैले एकै पुस्तकमा सबै समेटिएको भेटिँदैन।

पर्यावरणका भिन्न आयाम बुझ्न लेखिएका पुस्तकहरू रुचिअनुसार पढ्नु पर्छ। सिफारिस नै गर्नुपर्दा कतिपय पूरै पढेका, आधि पढेका र सुनेका आधारमा केही पुस्तक रुचिकर हुनसक्छन्।

जैविक विविधताको ह्रासबारे द न्यूयोर्कर कि लेखिका एलिजाबेथ कोल्बर्टको चर्चित पुस्तक ‘द सिक्थ एक्सटिङ्सनः एन अनन्याचुरल हिस्ट्री’ले पुलित्जर पुरस्कार पनि प्राप्त गरेको थियो। उक्त पुस्तकमा कोल्बर्टले जैविक विविधता ह्रासमा मानिसको एकल भूमिकालाई विभिन्न कोण र तथ्यबाट प्रस्तुत गरेकी छन्। मानव सिर्जित जलवायु परिवर्तन, दोहन, मानिसले विभिन्न ठाँउबाट ल्याएका बाह्य प्रजातिको कारण लोप भएका जीवहरूको उदाहरण र तथ्यहरू पुस्तकमा छन्। पृथ्वीमा उत्पत्ति भएका जीवहरूको ठूलो संख्याको विनाशलाई सामूहिक विलोपीकरण भनिन्छ। यसअघि विलोपीकरण पाँच पटक भएको थियो, जसको कारण ज्वालामुखी, छुद्र ग्रह थिए। अहिले हामी छैटौं सामूहिक विलोपीकरणको चरणमा छौँ र कारण फकर छ, त्यो हो मान्छे। उनको पुस्तकको नामै ‘सिक्थ एक्सटिङ्सन’ अर्थात्, अहिलेको जैविक विविधता ह्रासलाई प्रतिकात्मक ढंगले भनिने शब्द बनेको छ। 

जारेड डाइमन्डको चर्चित तर अलि पुरानो पुस्तक ‘कोल्याप्सः हाउ सोसाइटी चुज टु फेल अर सक्सिड’ पनि रोचक छ। 

त्यसैगरी, मलाई मनपर्ने लेखक माइकल पोलेन पनि हुन्। हाम्रो खाना र त्यसको पर्यावरणीय प्रभाव र औद्योगिक स्वार्थबारेमा लेखिएको उनको पुस्तक ‘द ओम्नीभोर्स डिलेमा’ चर्चित छ। उनको कथा भन्ने शैली गज्जबको लाग्छ। 

जलवायु परिवर्तनलाई सामाजिक र वातावरणीय न्यायको हिसाबले हेर्न नाओमी क्लेनको ‘दिस चेन्जेज एभ्रिथिङः क्यापिटलिजम भर्सेज द क्लाइमेट’ पढ्नुपर्ला। उनले जलवायु संकट सामना गर्न अनवरत नाफा कमाउने नवउदारवादी अर्थतन्त्रको परिधिभित्र रहेर सम्भव नहुने ठोकुवा गरेकी छन्।

पछिल्लो समय पढेको वातावरणीय तथ्यांकशास्त्री हान्ना रिचीको ‘नट द एन्ड अफ द वल्र्डः हाउ वि क्यान बि द फस्र्ट जेनेरेसन टु बिल्ड ए सस्टेनेबल प्लानेट’ हो। उनको पुस्तकमा लामो समयका तथ्यांकहरू दिइएको छ। उनले काम गर्ने ‘आवर वल्र्ड इन डाटा’ मा प्रकाशित उनका थुप्रै लेखहरूबाट यो पुस्तक बनेको छ। कतिपयले उनले प्रस्तुत गरेको तथ्यले सानो अंशलाई बढी आशावादी ढंगबाट प्रस्तुत गरेको भनेका छन्। तथापि, मलाई उक्त पुस्तक गज्जब लाग्यो। 

दक्षिण एशियाका पर्यावरणीय सवालबारे लेखिएका कुनै विशिष्ट किताब छन्?

मैले दक्षिण एशियाको सन्दर्भमा लेखिएको पर्यावरणसम्बन्धी पुस्तक पढेको छैन। पीएचडी गर्दातिर भारतीय लेखिका वन्दना शिवाको पुस्तक पढेको हो। उनको पुस्तकको कतिपय कुराहरू जस्तै, गरिब मुलुकबाट धनी मुलुकले बीउ, औषधिमूलोका लागि वनस्पतिजस्ता परम्परागत स्रोत वा निधि चोरेर लगेको भन्ने कुरा अलि विवादित पनि छ। तर उनले औद्योगिक कृषिको वातावरणमा पारेको प्रभावबारे राम्रै व्याख्या गरेकी छन्। उनी आफै अभियन्ता भएकाले पुस्तकमा अलिकता अभियन्ताको गन्ध अर्थात्, अलि एकांकी छ। त्यसबाहेक मैले पढ्न नपाएको तर मन लागेको पुस्तक भारतका चर्चित र प्रतिष्ठीत वातावरणशास्त्री माधव ग्याडगिलको आत्माकथा ‘ए वाक अप द हिलः लिभिङ विद पिपुल एन्ड नेचर’ हो। माधव ग्याडगिलको बारेमा उनका साथी तथा मेरो पीएचडीका गुरुबाट धेरै कुरा सुनेको र उनको कामबारे जानकारी भएकोले पढ्न मन लागेको छ।

नेपालको सन्दर्भमा तीर्थबहादुर श्रेष्ठ, जगन्नाथ अधिकारीहरूको पुस्तक पर्यावरण बुझाउन उपयोगी होला। 

सिमाना जोडिएकाले नेपाल र भारतमा कतिपय समान किसिमका पर्यावरणीय जोखिमका समस्या देखिन्छन्, कतिपय फरक छन्।  भारतमा पर्यावरण वा जलवायु संकटका विषयमा अनुसन्धान र लेखनका काम कतिको भएका छन्? उहाँ प्रकाशित भएका सामाग्री हाम्रा लागि कति उपयोगी छन्? 

धेरै पुस्तकहरू होलान्, तर आमपाठकका लागि भन्दा आफ्नै सर्कलका अध्येता, अनुसन्धानकर्ता विद्यार्थीहरूलाई लक्षित गरेर लेखिएका एकेडेमीक पुस्तक छन्। जसमध्ये इसिमोडबाट प्रकाशित ‘द हिन्दुकुश हिमालय एसेसमेन्ट माउन्टेन’, ‘क्लाइमेट चेन्ज’, ‘सस्टेनेबिलिटी एन्ड पिपुल’ संग्रणनीय होलान्। तर नेपाल वा भारतका स्थानीय पर्यावरणका विषयमा आमपाठकले बुझ्ने हिसाबले लेखिएका गैरसाहित्यिक पुस्तकहरू कम छन्।

तपाईंको आफ्नो विषयमा एकदमै प्रभाव पारेका कुनै किताब छन्?
पुस्तकको प्रभाव पनि समयक्रममा फेरिँदो रहेछ। गज्जब लागेका पुस्तक पछि अर्को राम्रो पढेपछि औसत लाग्दो रहेछ। धेरै विषयमा रुचि हुँदा पढेका पुस्तकहरू बिर्सने, सूचना मिसमास हुने समस्या पनि भएको छ। पछिल्लो पटक प्रभावित भएका पुस्तकमा हिदर हेयिङ र ब्रेट वाइन्सटाइनको ‘अ हन्टर ग्यादरर्स गाइड टु द ट्वान्टी फस्ट सेन्चुरी : इभोलुसन एन्ड द च्यालेन्जेज अफ मोर्डन लाइफ’ हो। उनीहरूले मार्निन लसको सिकारी फिरन्ते, अभाव, सीमित स्रोतमा विकसित भएको मानव मस्तिष्क, व्यवहार र अहिलेको अथाह स्रोत भएको समयमा आउँदाको अन्तरविरोध र त्यसले निम्ताएको सामाजिक, मनोवैज्ञानिक तथा वातावरणीय समस्यालाई तथ्यगत ढंगले प्रस्टाएका छन्। यी प्राध्यापक जोडीले कसरी सचेतन निर्णय गरेर हाम्रो पुरानो मस्तिष्क र फेरिएको अत्याधुनिक जीवनस्तरलाई सन्तुलनमा राख्ने भनेर थुप्रै टिप्स दिएका छन्। 

रिचर्ड र्‍याङघमको ‘द गडनेस प्याराडक्स : द स्ट्रेन्ज रिलेसनसिप विटुइन भर्चु एन्ड भाइलेन्स इन ह्युमन इभोलुसन’, मुस्तफा सुलेमान र माइकल भास्करको ‘द कमिङ वेभ : टेक्नोलोजी, पावर, एन्ड द ट्वेन्टी फस्ट सेन्चुरिज ग्रेटेस्ट डिलेमा’ ले निकै प्रभावित पारेको छ। पछिल्लो पुस्तकले प्रविधिको ऐतिहासिक विकास र अहिलेको एआईको विकास तथा जिम्मेवारीपूर्ण प्रयोगबारे निकै मिहिनेतका साथ तयार पारिएको छ। प्रविधिबारे लेखिएको यो पुस्तक मानव विकासबारे युभव नोहा हरारीको सेपिएन्स जस्तै ढंगको र प्रभावकारी छ जस्तो लाग्छ। 

हाम्रा कलेज तहका विद्यार्थीलाई पर्यावरण र जलवायु संकटप्रति संवेदनशील बनाउन उपयोगी हुने कस्ता सामग्री हुन सक्लान्?

मैले माथि भनेका जुनसुकै पुस्तक पढ्दा पनि हुन्छ। विज्ञान प्रविधिमा रुचि राख्नेका लागि स्टेभन जोनसोन, बिल ब्रेसन, फ्रान्स डे वाल, ई ओ विल्सन लगायतका पुस्तकबाट पढ्न शुरू गर्दा हुन्छ। तर यस्ता पुस्तक पढ्दाको इन्सेन्टिभ (जस्तै मूल्यांकनमा अंक पनि दिने) भनेको ज्ञान बढाउनेबाहेक हाम्रा विद्यार्थीले पाएका जस्तो लाग्दैन।

बरु पछिल्ला समयमा यहाँका केही निजी स्कुल पढेका विद्यार्थीलाई त्यस्ता पुस्तक पढ्न लगाई कक्षामा छलफल गराउने र त्यसको आधारमा उनीहरूको मूल्यांकन पनि हुने भएकाले उनीहरूले पढ्ने गरेको भेटेको छु। तर सरकारी कलेज पढेका विद्यार्थीहरूको हकमा त्यो प्रणाली छैन। पढ्न भन्दा ध्यानभंग धेरै भयो अहिले। हामी सबै प्रचुरताको समयमा बाँचेका छौँ। खानेकुरादेखि सूचना, पुस्तक र सोसल मिडियासम्म सबैको प्रचुरता। त्यसले गर्दा म आफै पनि अलमलिन्छु कुन पढ्ने, कति सम्झने, कति भन्ने भनेर।