युक्रेनको पुनर्निर्माण आवश्यकता पाँच खर्ब डलर नाघ्यो : अध्ययन

विश्व बैंक, यूई र संयुक्त राष्ट्रसंघको संयुक्त मूल्यांकनका अनुसार रुसी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने देखिएको छ।

रुसी आक्रमणबाट ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि युक्रेनलाई पाँच खर्ब डलरभन्दा बढी आवश्यक पर्ने एक अध्ययनले औँल्याएको छ। चौथो वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार प्रकाशित संयुक्त मूल्यांकनमा युक्रेनलाई क्षतिग्रस्त संरचना पुनर्निर्माणमा ठूलो धनराशि आवश्यकता पर्ने जनाइएको छ।

“अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्संरचनाको कुल लागत पाँच खर्ब २४ अर्ब डलर हुनेछ”, युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “यो संख्या सन् २०२४ का लागि युक्रेनको अनुमानित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग २.८ गुणा हो।”

सर्वेक्षणले सन् २०२२ फेब्रुअरीमा आक्रमण शुरूआतदेखि सन् २०२४ डिसेम्बरसम्म भएको विनाशलाई समेटेको छ। सर्वेक्षणका अनुसार देशको १३ प्रतिशत आवास क्षेत्र क्षतिग्रस्त या नष्ट भएको छ। यसबाट २५ लाखभन्दा बढी घरपरिवार प्रभावित भएका छन्।पूर्व, उत्तर र दक्षिणका अग्रपंक्ति क्षेत्रमा तीन–चौथाइसम्म क्षति भएको छ।

“यो मूल्यांकनले रुसले युक्रेनमा पारेको असाधारण क्षतिलाई प्रकाश पार्छ”, प्रतिवेदनमा भनिएको छ। त्यस्तै, विस्तार विवरणका लागि ईयू आयुक्त मार्टा कोसलाई उद्धृत गरिएको छ।

यसअघि सन् २०२४ को फेब्रुअरीमा गरिएको सर्वेक्षणमा युक्रेनलाई आगामी दशकमा चार खर्ब ८६ अर्ब डलरको आवश्यकता पर्ने उल्लेख गरिएको थियो।

पुनर्निर्माण कार्यक्रमले अहिलेसम्म ऊर्जा पूर्वाधार र आवासीय भवन मर्मत गर्नेमा ध्यान केन्द्रित गरेको छ। रुसले युद्धग्रस्त युक्रेन देशको विद्युत् ग्रिडमा आक्रमण जारी राखेका त्यसमा ठूलो क्षति पुगेको छ। ऊर्जा क्षेत्रमा क्षति पुग्दा नियमित रूपमा लाखौँ मानिस विद्युत् आपूर्तिको समस्या झेलिरहेका छन्।