कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः शुरू

इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

काठमाडाैँ– इजरायलले गत हप्ता चार जना इजरायली बन्धकको शवको बदलामा रिहा गर्ने भनिएका ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्न सहमत भएको इजिप्टको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सहमतिपश्चात गाजा युद्धविराम सम्झौताको दोस्रो चरणका लागि वार्ता जारी रहेको जनाइएको छ। प्यालेस्टिनी लडाकु समूह हमासले इजिप्टको निगरानीमा भएको रिहाइका लागि भएको सहमतिको पुष्टि गरेको छ। वासिंटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व मामिला हेर्न तोकिएका अधिकारी स्टिभ विटकोफले इजरायली प्रतिनिधिहरू युद्धविराम सम्झौताको अर्को चरणका लागि वार्ताका लागि अघि बढिसकेको बताएका हुन्।

“हामीले धेरै प्रगति गरिरहेका छौँं। इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भने।

“यो वार्ता दोहामा वा कायरोमा हुनेछ। वार्तामा इजिप्ट र कतारका मध्यस्थ अधिकारीसहित फेरि वार्ता  शुरू हुनेछ,” उनले भने।

यद्धविरामको पहिलो चरण आगामी शनिबार सकिँदैछ तर फेब्रुअरीको शुरूमै थालिने भनिएको बाँकी प्रक्रियाका लागि तय गरिएको वार्ता शुरू भएको छैन।

हमासले दोस्रो चरणमा बाँकी रहेका सबै बन्धकलाई एकैपटक रिहा गर्न तयार रहेको बताएको छ।

समूहले आइतबार इजरायलले ६०० प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ गरेर गाजा युद्धविरामलाई खतरामा पारेको आरोप लगाएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरूलाई कसरी मुक्त गरिएको छ भन्नेबारे चिन्ता व्यक्त गर्दै ढिलाइलाई उचित ठहर्‍याएका छन् र यस प्रक्रियालाई ‘अपमानजनक समारोह’ को रूपमा वर्णन गरिएको छ।

‘सम्मानजनक आदानप्रदान’
जनवरी १९ मा युद्धविराम लागू भएयता हमासले सार्वजनिक समारोहमा रेडक्रसका अधिकारीमार्फत् गाजाबाट २५ जना इजरायली बन्धकलाई रिहा गरेको छ।

इजरायलले नकाबपोश, सशस्त्र लडाकुहरूले बन्दीहरूलाई नाराले सजाइएको मञ्चमा राखिएको र सम्बोधन गर्न लगाई अपमान गर्ने काम भइरहेको दावी गर्दै इजरायली नियन्त्रणमा रहेका करिब ६०० प्यालेस्टिनी कैदीबन्दीको रिहाइमा ढिला गरेपछि युद्धविराम वार्ता अवरूद्ध हुने अवस्थामा पुगेको थियो।

इजरायलले एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीलाई रिहा गरिसकेको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सबै पक्षलाई बन्दी र बन्धकको अदलाबदली 'मर्यादित र निजी तवरमा' गर्न आग्रह गरेको छ।