चीन पुग्न थाल्यो ओलाङ्चुङगोलामा बुनेको गलैँचा

कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन। नाका खुलेसँगै व्यापार व्यवसाय गर्न सहज हुन थालेको स्थानीयले बताएका छन्।

फुङलिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ।

यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मूल्यका साथ निर्यात हुने गरेको छ। कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन। 

नाका खुलेसँगै, ओलाङ्चुङगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुपु ल्हमु श्रेष्ठले जानकारी दिइन्। ओलाङ्चुङगोलामा उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ। यस क्षेत्रको गलैँचा फुङलिङ बजार हुँदै काठमाडौँसम्म पुग्ने गर्छ। नेपाली बजारमा एउटा गलैँचाको मूल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने उनले बताइन्। 

उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ  १५ हजारदेखि ४५ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएको कारण स्थानीय उत्पादनकर्तालाई मुनाफा बढी हुनु गरेको फुपु ल्हमुले बताइन्।  

“नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ। स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ,” उनले भनिन्, “निर्यातको अवसरले ओलाङ्चुङगोला क्षेत्रको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको छ।”