डढेलो बस्तीमा प्रवेश गर्दा जापानमा ८० भन्दा बढी भवन जले

जापानको सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ।

उत्तरी जापानमा बुधबार साँझदेखि लागेको डढेलो बस्तीमा प्रवेश गर्दा ८० भन्दा बढी भवन जलेका छन्। करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। 

सार्वजनिक प्रसारक एनएचकेमा प्रसारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जंगली क्षेत्रमा आगोले धेरै घर जलेको देखाइएको छ। 

सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ। ओफुनातोका मेयर कियोशी फुचिगामीले आगलागीबाट ६०० हेक्टर जमिन जलेर नष्ट भएको बताएका छन्।  

आगलागीको कारण भने खुल्न नसकेको छैन। सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटाभन्दा बढी डढेलो लागेको थियो।

फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको तीव्र बतासले सोही क्षेत्रमा स–साना डढेलोको शृंखला फैलाउन मद्दत गरेको छ ।

उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले आफू कामबाट फर्किँदा आगो घरनजिक आइरहेको देखेको बताइन्। “मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो,” उनले भनेकी छन्।