कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा–५ वन समितिमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

कञ्चनपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बिहीबार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको उनले बताए।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएका छन्। घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।

ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ।