वैज्ञानिकहरूलाई बुझ्न १० वर्ष लागेको समस्या एआईद्वारा २ दिनमै समाधान

वैज्ञानिकहरूले वर्षौंदेखि खतरनाक ब्याक्टेरिया कसरी सुपरबग बन्छ र तिनीहरूमाथि कसरी एन्टिबायोटिकको असर कम हुँदै जान्छ भनेर बुझ्ने प्रयास गरिरहेका थिए।

काठमाडौँ– वैज्ञानिकहरूलाई बुझ्न र समाधान गर्न दश वर्ष लागेको समस्या आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणले दुई दिनमै समाधान गरेको छ।

इम्पेरियल कलेज लन्डनका प्राध्यापक जोस आर. पेनाडेस र उनको टोलीले केही सुपरबगहरू एन्टिबायोटिक विरुद्ध किन इम्युन (प्रतिरोधी) हुन्छन् भनेर बुझ्न वर्षौं बिताए। उनले गुगलको नयाँ एआई टुल ‘को साइन्टिस्ट’ लाई आफ्नो अनुसन्धानसँग सम्बन्धित एक सामान्य प्रश्न सोधे। गुगलको यो उपकरणले ४८ घण्टामा प्रश्नको जवाफ दियो, जुन उत्तर खोज्न प्रोफेसर र उनको टोलीलाई धेरै वर्ष लागेको थियो।

बीबीसीसँग कुरा गर्दै प्रोफेसर पेनाडेसले एआईको यो नतिजा देखेर आफू छक्क परेको बताए। किनभने उनको अनुसन्धान अहिलेसम्म कतै पनि प्रकाशित भएको थिएन। यसको अर्थ एआईले यो जानकारी सार्वजनिक रूपमा कतैबाट पनि प्राप्त गरेको थिएन।

यसमा उनलाई विश्वास नै लागेन र गुगललाई इमेल लेखे, “तपाईंसँग मेरो कम्प्युटरमा पहुँच छ।” तर गुगलले उनको प्रश्नलाई अस्वीकार गर्‍यो।

यसमा संलग्न वैज्ञानिकहरूका अनुसार यो अनुसन्धान पूरा गर्न लागेको दश वर्षको अधिकांश समय यो सिद्धान्त प्रमाणित गर्नमै बितेको थियो। तर वैज्ञानिकहरूको विश्वास छ कि यदि उनीहरूले यस परियोजनाको शुरूमै एआईले दिएको परिकल्पना प्राप्त गरेको भए, उनीहरूको धेरै वर्षको कडा परिश्रम बचाउन सकिन्थ्यो।

“मैले बनाएको अनुसन्धान प्रतिलिपिभन्दा एआईले नै अनुसन्धानको राम्रो प्रतिलिपि बनाएको छ,” प्रोफेसर जोस आर. पेनाडेस भन्छन्, “यस्तो होइन कि उपकरणले एउटा मात्र परिकल्पनालाई सही भनेको छ। यस बाहेक, उपकरणले चार वटा छुट्टाछुट्टै परिकल्पनाहरू पनि दिएको छ, जुन पूर्ण रूपमा सही थिए।”

उनी थप भन्छन्, “यी परिकल्पनाहरूमध्ये एउटा हामीले कहिल्यै सोचेका पनि थिएनौँ र अब हामी यसमा काम गरिरहेका छौँ।”

वैज्ञानिकहरूले वर्षौंदेखि खतरनाक ब्याक्टेरिया कसरी सुपरबग बन्छ र तिनीहरूमाथि कसरी एन्टिबायोटिकको असर कम हुँदै जान्छ भनेर बुझ्ने प्रयास गरिरहेका छन्।

वैज्ञानिकहरू विश्वास गर्छन् कि सुपरबगहरूले विभिन्न भाइरसहरूबाट एक प्रकारको पुच्छर बनाउँछन्, जसले गर्दा तिनीहरू सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन सक्छन्।

“सुपरबगहरूसँग साँचोहरू हुन्छन् जसले तिनीहरूलाई कुनै पनि अवरोधबिना एक घरबाट अर्को घरमा, वा एक होस्टबाट अर्को होस्टमा यात्रा गर्न अनुमति दिन्छ,” प्रोफेसर पेनाडेस बताउँछन्।

यस अनुसन्धानको सबैभन्दा विशेष पक्ष यो थियो कि यो परिकल्पना उनको टोलीको खोज मात्र थियो र यो अहिलेसम्म कतै प्रकाशित वा साझा गरिएको थिएन। त्यसैले प्रोफेसर पेनाडेसले गुगलको नयाँ एआई उपकरणको परीक्षण गर्न यो परिकल्पना प्रयोग गरे। त्यसको दुई दिनपछि एआईले केही हाइपोथेसिस (परिकल्पना) प्रस्तुत गर्‍यो। तीमध्ये पहिलो परिकल्पना प्रोफेसर पेनाडेसको अनुसन्धान जस्तै थियो, जसले सुपरबगहरू वास्तवमा आफ्नै पुच्छर बनाएर फैलिन्छन् भन्ने कुरा बताउँछ।

अनुसन्धानमा एआईको प्रभाव
पछिल्लो समय एआईको बारेमा धेरै छलफल भइरहेको छ। एआईका समर्थकहरू यसले विज्ञानलाई अगाडि बढाउने बताउँछन्, जबकि केहीलाई डर छ कि यसले जागिर गुमाउन सक्छ। तर प्रोफेसर पेनाडेस भने मानिसहरूको यो डरलाई स्वभाविक ठान्छन्। एआईलाई गहन ढंगले बुझेमा यो एक धेरै शक्तिशालि र उपयोगी उपकरण साबित हुने उनको भनाइ छ।

आफ्नो अनुसन्धान परियोजनामा कार्यरत टोली भविष्यमा एआई धेरै लाभदायक साबित हुनेमा विश्वास गरिरहेको उनी बताउँछन्।

प्रोफेसर पेनाडेस भन्छन्, “म पूर्णत: विश्वस्त छु कि एआईले विज्ञानलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। म एउटा अद्भुत कुराको अगाडि उभिरहेको छु र म यसको हिस्सा हुन पाउँदा धेरै खुसी छु।”