अरनिको राजमार्ग: धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षयता सास्ती खेप्दै आएका छन् भने दुर्घटनाको जोखिम पनि बढेको छ।

काभ्रेपलान्चोक– सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ। बिहीबार कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो। 

कार्यालयको मंगलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो। जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो। ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन। पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्रायः थियो। 

सडक उपभोक्ताले पटक पटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो। सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लोपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजनक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो। “अब प्रक्रिया पुर्‍याएर एक दुई हप्तामै पुनः ठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ”, कार्यालयका प्रमुख सुमन योगेशले भने। उनका अनुसार हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको छ।

हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिब सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ। गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम शुरू गरिए पनि वर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो।

समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि सास्ती खेप्दै आएका छन् भने यो सडकमा सयौँ दुर्घटनासमेत भएका छन्। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डीबीएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो। अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो।