रुस र अमेरिकी कूटनीतिज्ञबीच रियादपछि इस्तानबुलमा भेटवार्ता

रुसी र अमेरिकी अधिकारीबीच साउदी अरबको राजधानी रियादपछि बिहीबार इस्तानबुलमा भेटवार्ता भएको छ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगान। तस्वीर: रुसी विदेश मन्त्रालय

रुसी र अमेरिकी अधिकारीबीच बिहीबार टर्किएको इस्तानबुलमा भेटवार्ता भएको छ। दुई देशबीचको सम्बन्ध पुनर्स्थापना गर्ने उद्देश्यसाथ दूतावासमा समस्या समाधानका लागि वार्ता भएको रुसी सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनमा आक्रमण शुरू भएयता दुई आणविक शक्ति सम्पन्न मुलुक रुस र अमेरिकाबीच यसै महिना भएको पहिलो उच्चस्तरीय बैठकपछि अमेरिकी महावाणिज्यदूतको निवासमा वार्ता भएको हो।

वार्तामा दुवै पक्षको कूटनीतिज्ञको सहभागिता भएको बताइए पनि सहभागीको परिचय खुलाइएको छैन। रुसको सरकारी समाचार एजेन्सी तासले रुसी प्रतिनिधिमण्डलमा ‘विदेश मन्त्रालयका प्रतिनिधि’ रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना सत्तामा आएदेखि नै मस्कोसँगको सम्बन्धलाई पुनर्स्थापित गर्ने प्रयास गरिरहेका छन्। उनले रुसी समकक्षी भ्लादिमिर पुटिनलगायत क्रेमलिनका अधिकारीसँग तीन वर्षमा पहिलो पटक उच्चस्तरीय वार्ता शुरू गर्न पहल थालेका थिए। 

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फेब्रुअरी १८ मा साउदी अरबको राजधानी रियादमा भेटवार्ता भएको थियो।

इस्तानबुलमा भएको वार्ताको उद्देश्य पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका क्रममा दूतावासका कर्मचारीलाई एकअर्काबाट निष्कासन गरेपछि आफ्ना कूटनीतिक नियोगको कामलाई सामान्य बनाउने हो।

नेटो सदस्य टर्किएले युक्रेनमा शत्रुता अन्त्य गर्न वार्तामा भूमिका खेल्न चाहेको छ। टर्किएले सन् २०२२ मार्चमा मस्को र किभबीच दुई पटक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो।