कला साहित्य उत्सवमा कृषिदेखि खानासम्मको बहस

कला साहित्य उत्सवमा वक्ताहरूले बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षे‍त्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने धारणा राखेका छन्।

झापा– उत्पादन र उत्पादकत्वको दृष्टिले अहिले कृषिक्षेत्र ओरालो गतिमा रहेको सरोकारवालाले बताएका छन्।

झापामा रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवमा बिहीबार खाना कस्तो? नाफा कति? भन्ने विषयक छलफलमा कृषिविज्ञ डा. कृष्ण पौडेलले अहिले उत्पादनका हिसाबले कृषिक्षेत्र ओरालो गतिमा रहेको बताएका हुन्। उनले भने, “पैसा फलाउने खेती शुरू भएपछि कृषि ओरालो लागेको हो।” 

प्राकृतिक खेतीप्रणाली नै सबैभन्दा उत्तम कृषि उत्पादन पद्धति भएको पौडेलको भनाइ थियो। बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षे‍त्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने उनले बताए।

कार्यक्रमका सहजकर्ता केदार शर्माले कृषि पढेकाले किन खेती नगरेर जागिर नै खानुपर्ने भनेर राखेको प्रश्नमा कृषिविज्ञ पौडेलले आधुनिक हुने मानसिकताले मानिसहरू यस्तो अभ्यासतिर धकेलिएको बताए। यो वैश्विक व्यवस्थाका कारण निम्तिएको समस्या भएको उनको बुझाइ छ। 

“आज हामी जुन विज्ञान र प्रविधिलाई ज्ञान भन्दै छौँ, त्यो राम्रो छैन। यसले थप समस्या निम्त्याएको छ। हामीले हाम्रो विवेकलाई फर्काएर प्राकृतिक कृषिमा फर्कनुपर्छ,” उनले भने, “त्यसका लागि केही समय लाग्छ। त्यो धैर्यता हामीलाई चाहिन्छ।”

त्यस्तै, पोषणविद् डा.अरुणा उप्रेतीले नेपालमा मौलिक किसिमका रैथाने औषधि रहेको, तिनीहरूको प्रयोगबाट धेरै फाइदा पुग्ने बताइन्। पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यसम्म असर गर्ने भएकाले खाने खानेकुरामा एकदमै ख्याल गर्नुपर्ने उनको सुझाव छ।

पुर्खाको ज्ञान पनि खानपान र औषधिमा एकदमै महत्त्वपूर्ण हुने भएकाले यस्ता ज्ञानलाई जोगाउनुपर्ने डा. उप्रेतीको भनाइ छ। “मैले ४० वर्षमा आफूले सिकेको ज्ञान मात्रै ज्ञान होइन रहेछ भन्ने सिकेँ, पुर्खाको ज्ञान महत्त्वपूर्ण हुने रहेछ,” उनले भनिन्।

कार्यक्रममा उकालोडट्कमका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक आमोदनाथ प्याकुरेलले खानेकुरा र कृषिसम्बन्धी विषयवस्तुलाई मिडियाले राम्रोसँग सम्प्रेषण गर्न नसकेको बताए। “हामीले साना–साना न्युज कभर गरे पनि कृषिका कुरा बुझाउन खँदिला लेख र रिपोर्टिङ पाठकलाई दिन सकेका छैनौँ। कृषिका विषयमा लेख्ने मान्छे पनि कम छन्,” उनले भने। 

विभिन्न स्थानीय खानासम्बन्धी विषयलाई पनि मिडियाले कम स्थान दिएको, कृषि र किसानलाई न्याय गर्न नसकेको उनको भनाइ छ। “म पनि कृषिमा एक किसिमको प्रयोग गरिरहेको छु। हिजो जहाँ उत्पादन हुन्थ्यो आज त्यहाँ हुँदैन। त्यही भएर किसानको समस्या के रहेछ भनेर बुझ्दै छु। खासमा कृषि र किसानलाई हामीले न्याय गर्न सकेका रहेनछौँ भन्ने लाग्यो,” उनले भने।

मिडियाले खाना र विषादीबारे राम्रोसँग बुझाउन नसक्दा उपभोक्ता दिग्भ्रमित भइरहेको प्याकुरेलको बुझाइ छ। “हामी स्वास्थ्यमा ध्यान नदिई, आँखाले राम्रो हेरेर तरकारी, फलफूल लगायतका खानेकुरा खरिद गर्छौं। तर विषादीरहित तरकारीमा कीरा लागेको हुनसक्छ, सग्लो नहुन सक्छ। तर हामी त्यो खरिद गर्दैनौँ। हेर्दा राम्रो चाहिन्छ हामीलाई,” उनले भने, “यो कुरा हामीले मिडियामार्फत बुझाउन सकेका छैनौँ।”

कला साहित्य उत्सवको दोस्रो दिन बिहीबार भारतका वैज्ञानिक डा. देवल देवल बीउ : जीवनको आधार विषयमा सम्भाषण दिएका थिए। यस्तै, शंकर लुइँटेलले वन्यजन्तुसम्बन्धी र देवेन खरेलले चराको तस्वीरसम्बन्धी प्रस्तुति पनि दिएका थिए। यसबाहेक कविता वाचन, चित्रकला प्रदर्शनी कार्यक्रममा राखिएको छ। तीन दिनसम्म चल्ने कला साहित्य उत्सव शुक्रबार सकिने छ।