रारा आगलागी : पर्यटक सुरक्षित, सामान्य बन्दै अवस्था

रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागीको घटनापछि अवस्था सामान्य बन्दै गएको छ।

मुगु– रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागीको घटनापछि अवस्था सामान्य बन्दै गएको छ। यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो। आगलागीपछि ग्यास सिलिन्डर पड्किँदा पाँच वटा घर जलेर नष्ट भएका थिए। “काठका चार घर र ढुंगा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ”, उनले भने।

आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिए। दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। आगलागीबाट पाँच वटै घरका सम्पूर्ण सामान नष्ट भएका छन्।

“आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए। उनीहरू सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए”, उनले भने। 

राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घटनास्थलमा पुगेर आगो निभाएका थिए।