काभ्रेमा सुक्खा पहिरोमा परी १ जनाको मृत्यु

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिलर ढालेर किच्दा एक मजदुरको मृत्यु भएको छ।

काभ्रेपलान्चोक– सुक्खा पहिरो खस्दा नमोबुद्ध नगरपालिका–१ कानाकोटमा एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ।

वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिलर ढालेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

हराएको पाँच महिनामा कंकाल फेला
यसैबीच हराएको करिब पाँच महिनापछि मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कंकाल पाँचखाल नपा–३ स्थित जंगलमा भेटिएको छ। लामाको हत्या अभियोगमा प्रहरीले बिहीबार धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। लामा गत असोज १५ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्।

सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान् राइफल लामाले प्रहरीमा खोजबिनका लागि निवेदन दिएका थिए। निशाको कंकाल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जंगलमा फेला परेको थियो। निशाको कंकालसँगै ब्याग, चप्पल र ब्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कंकाल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गरेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार निशाका श्रीमान् लामाले रञ्जितकारविरुद्ध बिहीबार जाहेरीसमेत दर्ता गरेका छन्।

प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलान्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्क्याएर काफ्लेडिहीको जंगलमा लगेको र हत्या गरेको आरोप छ। रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्ती करणीको अभियोग’मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुंगाले टाउको तथा संवेदनशील अंगमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। निशाका दुई छोरा र एक छोरी छन्।

यसैगरी भुम्लु गाउँपालिका–१ सापिङमा ३५ वर्षीय श्रीकृष्ण गिरी मृत फेला परेका छन्। गिरीको शव घरदेखि अन्दाजी डेढ किलोमिटर पश्चिमतर्फ आंगे खोल्सास्थित भीरबाट करिब ३५ मिटर तल मृत भेटिएको प्रहरीले जनाएको छ। गिरीको टाउको र शरीरमा चोटपटक देखिएकाले घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए।