कतारबाट बोलाइ प्रेमीको हत्या गरेको आरोपमा महिला पक्राउ

सम्बन्धमा खटपटपछि वैदेशिक रोजगारीका लागि कतारमा पुगेका प्रेमीलाई नेपाल बोलाइ श्रीमान‍्को सहयोगमा हत्या गरेको आरोपमा धनुषाबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जनकपुरधाम– वैदेशिक रोजगारीका लागि कतारमा गएका प्रेमीलाई नेपाल बोलाइ हत्या गरेको आरोपमा धनुषामा एक महिला पक्राउ परेकी छन्। 

धनुषाको कमला नगरपालिका–६ सिग्याही मडानका ३३ वर्षीय शाहिद अन्सारीको हत्या आरोपमा धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसियाकी २४ वर्षीया अनिताकुमारी यादव पक्राउ परेकी छन्। मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीका आधारमा अनितालाई जिल्ला प्रहरी कार्यालय धनुषाले उनकै घरबाट पक्राउ गरेको हो।

पुस ४ गते मिथिला बिहारी–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनि अन्सारीको शव भेटिएको थियो। उनको शव निधार तथा घाँटी रेटी बोराभित्र बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीका अनुसार अनुसन्धानका क्रममा अन्सारीसँग अनिता साढे दुई वर्षसम्म प्रेमसम्बन्धमा रहेको खुलेको छ। कतारमा रहँदा अन्सारीले अनितालाई बेलाबेलामा पैसासमेत पठाउने गरेका थिए।

सम्बन्धमा खटपट भएपछि अनिताले श्रीमान् राजकिशोर यादवको सहयोगमा अन्सारीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको तिवारीले बताए।

प्रहरी उपरीक्षक तिवारीका अनुसार राजकिशोर मंसिर १५ गते साउदी अरबबाट घर फर्किएको थिए। अनिताले अन्सारीलाई उनको श्रीमती बिरामी रहेको झूटो खबर दिई कतारबाट नेपाल बोलाएपछि अन्सारी पनि मंसिर २६ गते घर फर्किएका थिए।

अन्सारीलाई अनिताले मंसिर २७ गते आफ्नो घरमै बोलाएर श्रीमान्–श्रीमती मिलेर कोठामा बन्धक बनाइ बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

घटनालगतै अनिताका श्रीमान् राजकिशोर साउदी अरब फर्किएका थिए। राजकिशोरलाई नेपाल फिर्ता ल्याउन आवश्यक कानूनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।