प्रयोगमा नआउँदै जीर्ण बन्यो ७५ लाख खर्च भएको खानेपानी ट्यांकी

तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा पाँच वर्षअघि निर्माण भएको खानेपानी ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको छ। 

दाङ– तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण बनेको छ। पाँच वर्षअघि निर्माण भएको त्यो ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको हो। ७५ लाख रुपैयाँ लागतमा उक्त ट्यांकी निर्माण गरिएको थियो।

जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बनाएको उक्त ट्यांकी एक लाख ५० हजार लिटर क्षमताको छ। “न त त्यहाँ कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिक पानीका मुहान नै छन्,” स्थानीय देवराज वलीले भने, “हामी ट्यांकी निर्माण गर्दादेखि नै अचम्मित भएका थियौँ।” मुन्द्रकोट सामुदायिक वन क्षेत्रमा उक्त खानेपानी ट्यांकी निर्माण भएको हो। 

त्यहाँबाट केही दिन पानी तानिएको थियो। वर्षात्‌को समयमा खोलाबाट पानी तान्ने अवस्था नभएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताए। “हामीले केही समय पानी ट्यांकीमा राख्यौँ,” उनले‍ भने, “तर, लामो समयसम्म पानी ल्याउन सकिएन। धमधमेबाट त्यहाँ पानी ल्याउन सकिन्छ कि भनेर पनि छलफल अगाडि बढाइए पनि स्थानीयले नमान्दा समस्या भएको छ।” 

खानेपानी संस्थाको प्रतिवेदनमा पनि यो ट्यांकीलाई काम लगाउन नसकिने उल्लेख छ। सचिव राकेश बस्नेतले सभामा पेश गरेको प्रतिवेदनमा सोही ट्यांकीमा पानी लैजान सकिने अवस्था नरहेको उल्लेख छ।