चिनियाँ सामानमा थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्। उनले लागूपदार्थ तस्करीको कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्। 

अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले हालै क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। अर्को हप्तासम्म फेन्टानिलको समस्या बन्द नभए प्रस्तावित शुल्क अगाडि बढ्ने उनको भनाइ छ। 

“चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ,” ट्रम्पले बिहीबार भने। यस महिनाको शुरूमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरेका थिए। फेन्टानिल मुद्दालाई सम्बोधन गर्न वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने अमेरिकी अधिकारीहरूको भनाइ छ। 

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति बिहीबार चिन्ता व्यक्त गरेका छन्। “चीन यसको दृढतापूर्वक विरोध गर्छ र सम्बन्धित जवाफी कदम चालेको छ,” नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भनेका छन्। 

बेइजिङले अमेरिकी फेन्टानिलसम्बन्धी चिन्ताहरूलाई अस्वीकार गरेको छ। “वासिङ्टनले अन्य देशहरूमाथि शुल्क लगाउनुको साटो आफै यो समस्या समाधान गर्नुपर्छ,” बेइजिङले भनेको छ।

ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्रलाई जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने भएको छ।